Logo

म कर्म गर्छु, फलको आशा गर्दिन, पछि केके होला नहोला : अयोधिप्रसाद यादव



राष्ट्रियसभाको निर्वाचनको तयारीमा रहेका प्रमुख निर्वाचन आयुक्तसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । राष्ट्रियससभाको चुनावको सेरोफेरोमा रहेर गरिएको अन्तरवार्ताका क्रममा दलहरुले आयोगलाई लगाएका आरोपदेखि यादव आफैँ राष्ट्रपति बन्ने प्रयासमा लागेको भन्नेसम्मका विषयवस्तु उठान गरिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

राष्ट्रियसभा चुनावको मिति माघ २४ गतेलाई तोकिएको छ । प्रदेश प्रमुख पनि नियुक्त भए । चुनाव गर्न अब कुनै चुनौति छ ?
चुनावका लागि चुनौति त हुन्छ नै । चुनावलाई विश्वसनीय बनाएर सहज रुपमा सम्पन्न गर्ने प्रयासमा निर्वाचन आयोग छ ।

राष्ट्रियसभा चुनावका लागि मतदाना नामावली कहिले प्रकाशन हुन्छ ?
माघ सात गते मतदाता नामावली सार्वजनिक गछौँ । सम्बन्धित निर्वाचन कार्यालयका मतदान अधिकृतले नामावली सार्वजनिक गर्छन् ।

राष्ट्रियसभाको मत परिणाम सार्वजनिक गर्न निकै कठिन छ भनिन्छ नि हो ?
मतगणना कठिन छ । एकल संक्रमणीय मत प्रणालीको मत गणना गर्न कठिन हुन्छ । तर हामी गर्छौँ । एकल संक्रमणीय पद्धति जुन छ, यसका लागि मतदाता शिक्षाको पनि आवश्यकता छ । यो कुरा आयोगले व्यवस्थापन गर्दैछ । मतदातालाई प्रशिक्षण दिन्छौँ ।

मतदान र मतगणना गर्ने तरिका कस्तो हुन्छ ?
मतदान गर्नका लागि महिला तीन जना छान्नुपर्नेमा प्रत्येक मतदाताले आफूलाई मन परेको महिला उम्मेदवारलाई मतदान गर्नुपर्छ । महिला र अन्य समुहको वरियताका आधारमा मतदान गरिसकेपछि मतगणनाको लागि महिला र अन्य समुहको मतपत्र एकठाउँमा राखेर एक नम्बर कति जनाले प्राप्त गरेका छन्, त्यसलाई कोटा छुट्टयाउनुपर्छ । कति सिट आवश्यक छ, कति मतदाता छ, त्यो सुत्रका आधारमा गरिन्छ । यति मत ल्याएपछि विजयी हुन्छ, त्यो भन्दा बढि मत ल्याएको खण्डमा उम्मेदवारको मत अर्को उम्मेदवारको मतको रुमपा ट्रान्सफर गरिन्छ । ट्रान्सफर गर्ने तरिका हुन्छ ।

मतगणनाको लागि कति समय लाग्ला ?
कसरी मतगणना गर्ने भनेर सल्लाह गर्दैछौँ । दलहरुसँग सहमति गरेर कम्पूटरमार्फत मतगणना गर्न सकियो भने केही छिटो हुन सक्छ । जनशक्ति तयार छन् । प्राविधिक साथीहरुले मतदान अधिकृतलाई सहयोग गर्छन् । २ दिनभित्रमा मतगणना सकेर नतिजा सार्वजनिक हुन्छ ।

दलहरुको प्रतिनिधि मतगणनास्थलमा राख्नुपर्छ कि पर्दैन ?
यो विषयमा छलफल भइरहेको छ । विश्वसनियताका लागि राख्नुपर्ने हुन सक्छ । प्रतिनिधिलाई पनि मतगणनाको बारेमा जानकारी दिनुपर्ने हुन्छ । सबै काम अगाडि बढिरहेको छ ।

निर्वाचन आयोगले ढिलो काम गरेका कारण नयाँ सरकार गठनमा अवरोध भयो भन्ने आरोप छ नि ?
राष्ट्रियसभाको चुनाव सकिएपछि संघीय संसदले पूर्णता पाउँछ । संविधानको पूर्ण कार्यान्वयन हुन्छ । त्यसपछि नयाँ सरकार बनिहाल्छ । यो सबै प्रक्रियागत रुपमा हुने कुरा हो । म एक्लैले गर्न मिल्ने भए त अलग कुरा थियो । म प्रमुख निर्वाचन आयुक्त भएकाले संविधानअनुसार काम गर्ने हो । संविधान र कानुनको आधारमा अगाडि बढिरहेका छौँ । यसलाई अन्यथा लिनुहुँदैन ।

प्रतिनिधिसभातर्फ समानुपातिकको मत परिणाम सार्वजनिक गरिदिएको भए यो आरोप आउथेन होला नि ?
संविधान र कानुन पढेको मान्छेले यस्तो आरोप लगाउँदैनन् । सबैले संविधान र कानुन पढ्नुपर्छ । आरोप त स्थानीय तह, प्रदेश तह र प्रतिनिधीसभाको चुनावमा पनि लगाएका थिए । आरोप त त्यतिबेला पनि सहेकै हो । निर्वाचन गर्दा सरकारसँग सहकार्य गरेर जानुपर्ने हुन्छ । निर्वाचनका बेला जे आरोप लागे ति सबै हास्यास्पद कुरा हुन् ।

तपाई राष्ट्रपति बन्नका लागि लबिङ गर्नुभएको थियो रे । हो ?
हाहा । कस्तो कुरा गर्नुहुन्छ तपाई । मैले लबिङ गरेर हुन्छ । मलाई यस्तो कुरा सुन्दा हाँसो लाग्छ । मेरा बारेमा अरुले के सोच्छन् भन्नुभन्दा पनि मेरो जिम्मेवारी के हो भन्नेतिर म केन्द्रित छु । म देशप्रति केन्द्रित भएर काम गरेकाले नै समग्रमा सफलता मिलेको हो । म कर्म गर्छु, फलको आशा गर्दिन । पछि केके होला नहोला, त्यस्ता बकम्फुुसे कुराको पछाडि म लाग्दिन । देखाजाला । पछि केके हुन्छ हुन्छ ।

तपाई राष्ट्रपति बन्न योग्य व्यक्ति त हो नि । होइन र ?
यो कुरा अरुले सोच्ने कुरा हो । म पनि नेपाली नागरिक नै हुँ । कोही न कोही त बन्ला । तर मैल म बन्छु भनेर भन्ने कुरा त होइन नि ।



प्रतिक्रिया दिनुहोस्