Logo

धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकार अग्रसरः मन्त्री बस्नेत



भक्तपुर, ६ माघ : सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकार लागिपरेको बताउनु भएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा तथा विकास समितिको नवौँ वार्षिक साधारणसभा बोल्दै उहाँले नेपालमा प्रशस्त धार्मिक तथा ऐतिहासिक क्षेत्र रहेकाले देशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले डोलेश्वर क्षेत्रलाई पनि धार्मिक पर्यटनस्थलको रुपमा विकास गर्नसके भक्तपुरको विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल तथा मन्दिरका संरक्षक भरत जंगमले नेपाली तथा विदेशी पर्यटकको आकर्षणको थलोको रुपमा डोलेश्वर विकास हुँदै जाँदा भक्तपुरको पहिचान पनि अझ बढ्दै गएको चर्चा गर्नुभयो ।

समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले आधा रोपनी जग्गा रहेको मन्दिरको हाल २५ रोपनी जग्गा पुगेको बताउँदै पाँच वर्ष अगाडि तर्जुमा गरिएको मन्दिर निर्माणको गुरुयोजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताउनुभयो ।

त्यसअवसरमा समितिका महासचिव मोहन गिरीले समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै डोलेश्वरको मूल मन्दिर, अन्य देवीदेवताको मन्दिर, प्रवेशद्वार, चौबन्दी सत्तल, आश्रम घर निर्माणको कार्यले तीव्रता लिएको बताउँदै दाताहरुको आगमन बढ्दै गएको बताउनुभयो ।

त्यसअवसरमा कोषाध्यक्ष विश्वराम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आव २०७३÷०७४ मा कूल रु पाँच करोड ११ लाख ९० हजार ९३७ आम्दानी भएको र पाँच करोड २९ लाख ११ हजार ६६ खर्च भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, त्रिनेत्र अध्यात्म चिन्तक केन्द्रकी अध्यक्ष रेखा अर्याल, सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष एवं समितिका वरिष्ठ उपाध्यक्ष किरण थापालगायतले मन्दिरको गुरुयोजना पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । (रासस) 



प्रतिक्रिया दिनुहोस्