Logo

बाध्य पारेर एकता हुँदैन, विचार र भूमिका दुवै सम्मानजनक हुनुपर्छ : गजुरेल



७ माघ, काठमाण्डौ । नेकपा माओवादीका नेता हरिबोल गजुरेलले जनताले दिएको म्यान्डेट पूरा गर्नका लागि पनि एमाले र माओवादीबिच पार्टी एकता हुनैपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता गजुरेलले नेताहरुको व्यवस्थापन र वैचारिक मतभेद मिलाएर पार्टी एकता गरिने बताए ।

वैचारिक पक्ष मिलाउनका लागि माओवाद र जनताको बहुदलीय जनवादका विषयमा छलफल भइरहेको उनले बताए । अहिले यस विषयमा टुङ्गो लाग्न नसके महाधिवेशनमा गएर समाधान गरिने गजुरेलले बताए ।

माओवाद र बहुदलीय जनवादका राम्रा पक्षलाई कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । “सबै नराम्रा पक्ष छन् भन्ने पनि होइन । त्यसैले नयाँ संश्लेषणको आवश्यकता छ ।” गजुरेलले भने ।

आफूहरु बहुदलीय जनवादलाई पूर्ण रुपमा मानेर एकता गर्ने पक्षमा नरहेको उनले स्पष्ट पारेका छन् । जनयुद्धको औचित्य सकिने गरी कुनै पनि विचारलाई मान्न नसकिने उनको भनाई छ ।

“जनयुद्धको औचित्य सकियो भन्ने हो भने जनताको बहुदलीय जनवादमा किन जान पर्यो भन्ने कुरा आउँछ नि ।” गजुरेलले भने । “मदन भण्डारीको सिद्धान्त र भूमिकाको हामी सम्मान गर्छौँ । तर जनयुद्धले नेपालको समाजमा ल्याएको परिवर्तनलाई पनि स्विकार गर्नुपर्यो ।”

नेताहरुको भूमिका पनि सम्मानजनक तरिकाले बाँडफाँट गरेर मात्रै पार्टी एकता गर्नुपर्ने गजुरेलको भनाई छ । “एकतापछि महाधिवेशन नहुँदासम्म मिलाएर जानुपर्छ । अहिलेको सन्दर्भमा भूमिका त मिलाउनुपर्छ ।” गजुरेलले भने । “कसैलाई बाध्य पारेर त एकता हुँदैन । मनोविज्ञानहरुलाई पनि ख्याल गर्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्