Logo

अहिलेको नेतृत्व बाहिरिनुपर्छ, उहाँहरुकै निगरानीमा नयाँ पुस्ताले पार्टी चलाउँछ : प्रदिप पौडेल



७ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले चुनावपछि केन्द्रिय समितिको बैठकको सुरुवात भएको भन्दै आगामी दिनमा आफहरुले उठान गरेका मुद्दाहरुलाई सशक्त तरिकाले उठाउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले राष्ट्रियसभाको निर्वाचन नजिकै आइसकेकाले दुई दिनको बैठक सामान्य छलफलमै वितेको बताए ।

राष्ट्रियसभाको चुनावपछि पुनः बस्ने बैठकले विस्तृत छलफल गर्ने बताए । महासमितिको बैठक बस्ने कुरामा नेतृत्व सहमत भइसकेको बताउँदै पौडेलले आफूहरुले उठाएका विषयअनुसार नै पार्टी अगाडि बढिरहेको बताए ।

बैठकमा आफूहरुले राखेको कुरामा सभापति शेरबहादुर देउवा पूर्ण सहमत हुन नसकेपनि प्रक्रिया र विधिअनुसार पार्टीलाई बलियो बनाउने अभियानलाई कसैले रोक्न नसक्ने पौडेलको भनाई छ ।

निर्वाचनको समिक्षा गरेर प्रक्रियागत रुपमा अगाडि बढ्ने कुरामा केन्द्रिय समितिको बैठक प्रवेश गरिसकेकाले अब आफूहरुले उठाएका विषयले सार्थकता पाउने दाबी गरे ।

“हामीले भनेर मात्रै हुने कुरा होइन । प्रक्रियाले टुङ्ग्याउने कुरा हो । केन्द्रिय समितिमा त्यो विषयले प्रवेश पाएको छ । राष्ट्रियसभाको चुनावपछि पुनः केन्द्रिय समिति बैठक बस्छ । त्यसपछि महासमितिको बैठक आयोजना गर्ने कुरा भएको छ । महासमितिको बैठक भइसकेपछि विशेष अधिवेशन वा अर्ली अधिवेशनका बारेमा व्यापक छलफल हुन्छ ।” पौडेलले भने ।

देशको संरचना अनुसार पार्टीको संरचना बनाउनका लागि पनि विशेष महाधिवेशनको आवश्यकता रहेको पौडेलले बताए । “त्यसैले शिघ्र महाधिवेशन गर्नु जरुरी छ । तदर्थ अवस्थामा रहेको पार्टीको संरचनालाई राज्यको संरचना अनुसार बनाउनका लागि महाधिवेशन आवश्यक छ ।”

अहिलेको नेतृत्वलाई जबरजस्ती निकाल्न खोजिएको नभै पार्टीभित्र सुधारका लागि आफूहरु अग्रसर भएको पौडेलको भनाई छ । अहिलेकै नेतृत्वमा रहने नेताहरु सफल भइसकेको तर आगामी दिनमा कांग्रेसलाई बलियो बनाउनका लागि नयाँ पुस्तालाई नेतृत्व दिन आग्रह गरिएको उनले बताए ।

विगतमा खेल्नुपर्ने भूमिका अहिलेकै नेतृत्वले सफल रुपमा सम्पन्न गरेको तर अबको बदलिदो राजनीतिक परिवेशसँग सामना गर्न लागि युवा नेतृत्वको आवश्यकता देखिएकाले आफूहरु अघि सरेको पौडेलको तर्क छ ।

“सम्मानजनक ढंगबाट उहाँहरु बाहिरिनुपर्छ । सक्रिय भूमिकाबाट अलग हुनुपर्छ । तर उहाँहरुकै निगरानीमा नयाँ पुस्ताले पार्टी चलाउनुपर्छ । हामीले उहाँहरु असफल हुनुभयो भनेर अपमान गर्न खोजेका होइनौँ । एउटा सन्दर्भमा उहाँहरु सफल हुनुभएको छ । राजनीतिक आन्दोलन, संविधान निर्माण र कार्यान्वयनको पाटोमा उहाँहरु सफल हुनुभएको छ ।” पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्