भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज टेलिफोन गरे उनको स्वास्थ्य अवस्था बुझ्नुको साथै छिट्टै प्रधानमन्त्री बनेर भारत भ्रमणमा आउनको लागि निमन्त्रणा दिएसँगै नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको छ । मोदीले नेपालको आम निर्वाचन सम्पन्न भएपछि ओलीसँग दुईपटक कुराकानी गरेका छन् । त्यतिमात्रै नभएर उनले प्रधानमन्त्री बन्न एक महिना करिब बाँकी रहँदै ओलीलाई अग्रिम बधाई समेत दिए । यसले के देखाउँछ भने मोदी र ओलीवीच आगामी दिनमा सम्बन्ध सुमधुर भएर जानेछ । यता, एमाले नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका सदस्य डा. राजन भट्टराईले पनि दुई नेताहरुवीचको सम्वादलाई अत्यन्तै फलदायीको संज्ञा दिए । पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा विशेष कुराकानी गर्दै उनले भनेका छन्,“दुई वटा मुलुकको सम्बाद हुने कुराले सम्बन्ध सुमधुर बनाएर र सम्बन्धलाई अगाडि लिएर जाने कुरामा नै सहयोग पुर्याउँछ।”
एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीवीच के-के कुराकानी भयो ?
निर्वाचन सम्पन्न भईसकेपछि आज दोस्रो पटक खासगरी वाम गठबन्धनले नेपालमा विजयी हाँसिल गरिसकेपछि उहाँहरुको वीचमा दोस्रो पटक टेलिफोनमा सम्वाद भएको छ । आजको फोन भारतीय प्रधानमन्त्री मोदीले नै उताबाट गर्नुभएको थियो । जतिबेला उहाँले फोन गर्नुभएको थियो, त्यतिवेला हाम्रो अध्यक्ष केपी शर्मा ओली पार्टी एकतासम्बन्धी संयोजन समितिको बैठकको अध्यक्षता गरिरहुनभएको थियो । त्यही बेला फोन आएको थियो । फोनमा खासगरी नयाँ वर्ष २०१८ लागेकोमा शुभकामना आदानप्रदान, ओलीको स्वास्थ्य स्थितिबारे जानकारी राख्नुभयो । त्यसपछि उहाँले फेरि तपाईलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका छौं भन्नुभयो । र, त्यही प्रधानमन्त्री नवनियुक्त भैसकेपछि भारत भ्रमणको पूनः निमन्त्रणा दोहोर्याउनुभएको छ। त्यो सँगै भोलिका दिनमा सहकार्य गरेर अगाडि जाने कुरा बताउनुभयो ।
त्यस्तै हाम्रो अध्यक्ष ओलीले पनि शुभकामना दिनुभयो । आफ्नो स्वास्थ्य स्थितिको कुरा बताईदिनुभयो । त्यसपछाडि भारत भ्रमणमा आउने कुरालाई स्विकार्दै उहाँले पनि मोदीजीलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभयो । र, पहिला मोदीजीको पोष्टपोन भएका दुई वटा भ्रमणहरु –एउटा जानकी मन्दिरको भ्रमण, अर्को मुक्तिनाथ जाने) उहाँको पूरानो ईच्छा, यी दुई वटा भ्रमणको व्यवस्था गरेर नेपाल भ्रमण आउनको लागि ओलीले पनि निमन्त्रणा दिनुभयो ।
उसो भए उहाँहरुवीच द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेबारे पनि कुराकानी भएको छ ?
स्वभाविक रुपमा राजनीतिक तहमा सबैभन्दा उच्च तहमा रहेका, निर्णायक ठाउँमा रहेका नेताहरुकावीचमा दुई वटा मुलुकको सम्बाद हुने कुराले सम्बन्ध सुमधुर बनाएर, सम्बन्धलाई अगाडि लिएर जाने कुरामा नै सहयोग पुर्याउँछ । त्यो पुर्याउने कुरामा यो टेलिफोन सम्बादले पनि सहयोग नै गरेको छ ।
ओली र मोदीवीच जसरी अहिले कुराकानीहरु भैरहेका छन्, यसको संकेत र सन्देश के हुन सक्छ ?
यसको संकेत र सन्देश भनेको नेपाल र भारतका बीचमा यो अगाडि जे जस्ता तितामिठा र अलिक अप्ठयारा खालको अवस्थाबाट गुज्रियौं, त्यो गुज्रिएको अवस्थाबाट होईन अब हामी एउटा समझदारी बनाएर दुई वटा मुलुकले सम्बन्धलाई राम्रो बनाएर जानुपर्छ, त्यो सम्बन्धलाई राम्रो बनाएर जाँदा नै दुवै मुलुकको हित छ । र, दुवै मुलुकका चासोहरुलाई सम्बोधन हुन्छ भन्ने कुरातर्फ नै यसको सन्देश हो ।
नेपालमा ओली प्रधानमन्त्री हुने निश्चित भएपछि मोदीको चासो रहेको छ होईन त ?
नेपालमा प्रधानमन्त्री बन्ने र रहने भन्ने कुरा त यो हाम्रो मामला हो । नेपालमा केपी ओली प्रधानमन्त्री बन्ने भन्ने कुरा त हाम्रो आन्तरिक रुपमा हाम्रो व्यवस्थाको कुरा भयो । तर, दुई जना प्रधानमन्त्रीका बीचमा दुई वटा मुलुकहरुको सम्बन्धलाई कसरी अगाडि लिएर जाने कुरामा यस्ता सम्बादहरुले सहयोग पुर्याउँछ।
उसो भए ओली अब भारतसँग राम्रो सम्बन्ध राखेर अघि बढ्न चाहानुहुन्छ ?
स्वभाविक हो । हामीले कहिल्यै पनि भारतसँग सम्बन्ध तित्त बनाएर, सम्बन्ध नराम्रो बनाउँदा नेपालको राष्ट्र हित हुन्छ, नेपालको राष्ट्र बलियो हुन्छ, राष्ट्रिय सुरक्षा बलियो हुन्छ भनेर हामीले भनेका छैनौं । भारतसँगको सम्बन्ध राम्रो बनाउँदै हाम्रो पनि राष्ट्रियता, हाम्रो राष्ट्रको हित हुन्छ। तर, हाम्रो मात्रै भनाई के हो भने हाम्रो मुलुक स्वतन्त्र र सार्वभौमसम्पन्न मुलुक हो । यो भुगोलले सानो भएपनि, जनसंख्याले थोरै भएपनि, आर्थिक रुपले कमजोर भएपनि तर एउटा स्वाधिन र सार्वभौमसत्तासम्पन्न मुलुकले आफ्ना आन्तरिक मामिलाहरु, निश्चित मामलाहरुमा आफ्ना निर्णयहरु गर्न पाउने जुन अधिकार हो, त्यो अधिकारको हामी सुरक्षित गर्न चाहन्छौं । त्यसलाई अक्षुण्ण राख्न चाहन्छौं । त्यसमा कसैलेपनि चासो वा हस्तक्षेप नगरोस भन्ने मात्रै हाम्रो भनाई हो ।
पछिल्लो समयको कुरा गर्ने हो भने नेपाल र भारतवीचका धेरै समस्याहरु समाधान हुने दिशातर्फ उन्मुख भएको हो त?
हामी समस्यालाई समाधान गरेर नेपाल र भारतलाई २१ औं शताब्दीको यो दोस्रो दशकको नयाँ उचाईमा लिएर जान चाहिरहेका छौं । त्यसका लागि प्रवुद्ध समूहको तर्फबाट हामीले त्यो अभ्यास, खासगरी विगतजस्तो तित्ततापूर्ण, समस्याग्रस्त, एकले अर्कालाई नराम्रो मान्नुपर्ने यस्तो अवस्थाबाट मुक्त होस् भन्ने त्यो उचाईबाट नेपाल र भारत सम्बन्धलाई अगाडि लैजान चाहिरहेका छौं ।
तर वाम गठबन्धनको ( सम्भवत् नेपालमा पहिलोपटक) बुहमतको सरकार बन्दैछ, अब तपाईहरुले अन्र्तराष्ट्रिय सम्बन्धलाई कसरी विकसित गर्नुहुन्छ ?
हाम्रो अबको विदेश सम्बन्ध भनेको नेपाल राष्ट्र, नेपाली जनताको हितलाई केन्द्र भागमा राखेर, हाम्रा छिमेकीहरुसँग अत्यन्तै मैत्रीपूर्ण, नजिकको फराकिलो सम्बन्ध, र हाम्रा अन्य मुलुकहरु मैत्रीपूर्ण राष्ट्रहरु जो जो तपाईले नाम लिनुभयो, उनीहरुसँग पनि अत्यन्तै सौहार्दपूर्ण सम्बन्ध कायम राखेर हामी अगाडि बढ्छौं । हामी जनताबाट निर्वाचित विधि, लोकतान्त्रिक प्रणालीलाई अवलम्बन गरेर जनताबाट निर्वाचित सरकारको नेतृत्व गर्न गैरहेका छौं । निर्वाचित लोकतान्त्रिक सरकारलाई संसारका सबै लोकतान्त्रि मुलुक र छिमेकी मुलुकहरुले साथ र सहयोग दिनेछन् । र, हाम्रो अबको अभियान भनेको राजनीतिक स्थिरता, यो सगँै विकास र समृद्धि हो । विकास र समृद्धिसँगै सुशासन कायम गर्नु हो । यी तीन वटा कुरलार्इृ केन्द्र भागमा राखेर हाम्रो आगामी सरकारले कार्यक्रमहरु, नीतिहरु अगाडि बढाउँछ । त्यो नीति र कार्यक्रममा हामी उहाँहरुको सहयोग र साथका साथै आफ्नो मुलुकको राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रहितलाई अगाडि बढाएर लानेछौं । यसमा हामी कत्तिपनि यताउता नभईकन अगाडि जान्छौं ।
१९५० को सन्धि लगायत नेपाल र भारतवीच देखिएका सिमा समस्याहरु हल गर्न तपाईहरुको हालै दिल्लीमा सबेको प्रवुद्ध समूहको बैठक सफल भएको हो त ?
अहिले हामी छैठौं बैठकमा आई पुग्दाखेरि हामीले केही विषयमा सकारात्मक कुराहरु गरेर यो बैठक टुँग्याएका छौं । र, तपाईले भनेजस्तो १९५० को विषय होस या सिमाको विषयमा अत्यन्तै राम्रो र सौहार्दपूर्ण छलफल भएको छ । हिजो हाम्रोबीचमा रहेका कतिपय फरक धारणाहरु, फरक फरक बुझाईहरुलाई एउटै बुझाई बनाउने क्रममा हामीले केही सफलता प्राप्त गरेका छौं । म अहिल्यै नै तपाईसँग पूर्ण सफलता भयो भन्न सक्दिन् । किनभने हाम्रो प्रतिवेदन आउने जुलाईको पहिलो हप्तासम्म बुझाउनुपर्नेछ । त्यो प्रतिवेदन बुझाउने बेलासम्म हामीले यी समस्याहरुसहित सबै विषयमा हामी एउटै धारणा बनाएर नेपाल र भारतवीचको सम्बन्ध अब २१ औं शताब्दीमा यो तर्फ जाँदा उपर्युक्त हुन्छ भन्ने एउटै प्रतिवेदन दिनेछौं भन्ने हाम्रो विश्वास छ ।
एमाले र माओवादी केन्द्रवीचको एकता चाहीँ कहिलेसम्म होला त ?
पार्टी एकता अब छिट्टै नै हुन्छ । एकताका लागि केही गृहकार्य गर्न बाँकी छ । खासगरी, केही नीतिगत कुराहरु, सैद्धान्तिक विषयमा भर्खरै छलफल सुरु भएको छ । त्यस्तै संगठानात्मक विषयमा पनि छलफल गर्नुपर्छ । यी दुई वटा कामहरु केही हप्ताभित्रै हामीले सम्पन्न गर्ने वित्तिकै पार्टी एकता हुन्छ ।