Logo

पार्टी एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय



रमेश गिरी : भक्तपुर, ८ माघ : नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ ।

आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको पार्टीे स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो ।

बैठकले दुई वटै पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको जानकारी दिँदै पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो, “पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएर अगाडि बढ्ने टुङ्गोमा पुगेको छ ।”

सचिव भट्टराईले पार्टीको विचार धारा र सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा कार्यदल र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको छ भन्नुभयो ।

एक दुई दिनभित्रै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले यसको टुङ्गो लगाउने जानकारी दिँदै उहाँले यसका लागि आवश्यक गृहकार्य गरी आ–आफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकमा एमाले र माओवादी केन्द्र्रको पार्टी एकताबारे छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यसअघि दुई पार्टीका अध्यक्ष र पार्टी एकता संयोजन समितिको बैठकमा भएका छलफलकाबारेमा अध्यक्ष ओलीले जानकारी गराउनुभभएको थियो ।”

त्यसैगरी बैठकले सात वटा प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार छनोट गर्ने र २९ जनालाई उम्मेदवारको रुपमा प्रस्तुत गरी १० गते मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनका साथै प्रदेशसभाको सिट बाँडफाँडलगायत कार्य गर्ने गरी एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो । बैठकले उक्त प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ ।

साथै कार्यदलले प्रस्तुत गरेको राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रको सिट बाँडफाँडलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नवराज सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै बैठकले त्यसको भत्र्सना गरेको छ ।

सचिव भट्टराईले भन्नुभयो, “समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लाने विषय बनाएर बढाइचढाइ गरेको छ, यसको बैठकले भत्र्सना गरेको छ ।”

अपराह्न ४ बजे शुरु भएको बैठक राति ८ः३० बजेसम्म जारी रहेको छ । बैठकले प्रतिनिधिसभा उम्मेदवारका लागि पार्टीले उम्मेदवार बनाउने व्यक्तिको नाम छनोट गर्नका लागि बैठक रातिसम्म जारीे छ ।



प्रतिक्रिया दिनुहोस्