Logo

अख्तियारले आजदेखि गोपाल खड्कासँग बयान लिने



९ माघ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका खड्कासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि बयान लिन लागेको हो ।

यसअघि आयोगले जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधि गरी १६ जनासँग बयान लिइसकेको छ ।

खड्काको वयान सकिएसँगै अब सञ्चालक समितिका तत्कालीन सबै सदस्यको वयान थालिने छ ।
जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ ।

निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप छ । तत्कालिन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले निगमले जग्गा खरिद गर्दा जायज मूल्यभन्दा चार गुणासम्म बढी तिरेर घोटाला गरेको प्रतिवेदन नै सार्वजनिक गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्