Logo

नेपाल–भारत सम्बन्ध अब नयाँ उचाईमा पुग्छ : भट्टराई



काठमाडौं, ९ माघ । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूह (ईपिजी) का नेपाल समूहका सदस्य डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध अब २१ औं शताब्दी अनुसार नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध : आगामी दिनमा द्धिपक्षीय संभावना र चूनौतिहरु’ नामक विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थप्नेगरि अहिले सघन छलफल भैरहेको स्पष्ट पारेका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा भट्टराईले नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हित अनुकुल नै अघि बढ्ने भएकोले आगामी दिनमा पनि यही अडानका साथ छिमेकी मुलुकहरुसँग पारस्परिक सम्बन्ध राखिने जनाए । उनले भने,‘हाम्रो दुवै छिमेकी मित्रराष्ट्रहरुसँग गहिरो र फराकिलो सम्बन्ध छ, कसैसँग हामीले वैरभाव राख्नुहुँदैन्, र राख्न आवश्यक पनि छैन्।’

उनले आजको युग भनेको द्धिपक्षीय र बुहपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अघि बढ्ने युग भएकोले यसबारे विभिन्न अभ्यासहरु भैरहेको जानकारी दिँदै भने,‘संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलको सिद्धान्तमा छिमेकीहरुसँग पारस्परिक लाभका आधारमा, हाम्रो राष्ट्रको हितमा, समानताका आधारमा र अहस्तक्षेपका आधारमा सम्बन्ध विकसित गरेर अघि बढ्ने हो।’

नेपाल–भारत सम्बन्ध सबै हिसाबले गहिरो र प्रगाढ भएको उल्लेख गर्दै नेता भट्टराईले भने,‘नेपाल–भारत सम्बन्ध सबै हिसाबले सुमधुर छ, र यो निरन्तरता पनि हो, आगामी दिनमा अझै फराकिलो र गहिरो बनाएर जानुपर्छ, अहिले त्यो दिशामा हामी अघि बढिरहेका छौं।’ उनले नेपालको विदेश नीति कुनै छिमेकी देशको विपक्षमा नहुने समेत स्पष्ट पारे । ‘हाम्रो भू–भाग कसैको विपक्षमा हुनेछैन’–उनले थपे ।

आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच निर्वाचन सम्पन्न भएयता दुईपटक टेलिफोनवार्ता भएको बताउँदै उनले भने,‘निर्वाचन सम्पन्न भईसकेपछि उहाँहरुको वीचमा दोस्रोपटक टेलिफोनमा सम्वाद भएको छ । हालै भारतीय प्रधानमन्त्री मोदीले नै उताबाट फोन गर्नुभएको थियो । फोनमा मोदीले नयाँ वर्ष २०१८ लागेकोमा शुभकामना आदानप्रदान, ओलीको स्वास्थ्य स्थितिबारे जानकारी राख्नुभयो । त्यसपछि उहाँले फेरि तपाईलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका छौं भन्नुभयो । र, त्यही प्रधानमन्त्री नवनियुक्त भैसकेपछि भारत भ्रमणको पूनः निमन्त्रणा दोहोर्याउनुभएको छ। त्योसँगै भोलिका दिनमा सहकार्य गरेर अगाडि जाने कुरा बताउनुभयो ।’

यता एमाले अध्यक्ष ओलीले पनि नयाँ वर्षको उपलक्ष्यामा मोदीलाई शुभकामना दिएको उनले जानकारी दिए । मोदी–ओलीवीचको सम्वादबारे प्रकाश पार्दै उनले भने,‘हाम्रो अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य स्थितिको कुरा बताईदिनुभयो । त्यसपछाडि भारत भ्रमणमा आउने कुरालाई स्विकार्दै उहाँले पनि मोदीजीलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभयो । र, पहिला मोदीजीको पोष्टपोन भएका दुई वटा भ्रमणहरु–एउटा जानकी मन्दिरको भ्रमण र अर्को मुक्तिनाथ जाने) उहाँको पूरानो ईच्छा, यी दुईवटा भ्रमणको व्यवस्था गरेर नेपाल भ्रमण आउनको लागि ओलीले पनि निमन्त्रणा दिनुभयो ।’

उनले राजनीतिक तहमा सबैभन्दा उच्च तहमा रहेका, निर्णायक ठाउँमा रहेका नेताहरुकावीचमा दुईवटा मुलुकको सम्बाद हुने कुराले सम्बन्ध सुमधुर बनाएर, अगाडि लिएर जाने कुरामा नै सहयोग पुर्याएको विश्वस व्यक्त गरे

उनले मोदी र ओलीवीचको पछिल्लो सम्वादसँगै नेपाल र भारतका बीचमा यो अगाडि जे–जस्ता अवस्था थियो अब त्यो भने नरहेको स्पष्ट पारे । उनले भने,‘अब हामी एउटा समझदारी बनाएर दुईवटा मुलुकले सम्बन्धलाई राम्रो बनाएर जानुपर्छ, त्यो सम्बन्धलाई राम्रो बनाएर जाँदा नै दुवै मुलुकको हित छ । र, दुवै मुलुकका चासोहरुलाई सम्बोधन हुन्छ भन्ने कुरातर्फ अघि बढिरहेका छौं ।’

आफूहरु द्धिपक्षीय सम्बन्धमा देखिएका समस्यालाई समाधान गरेर नेपाल र भारतलाई २१ औं शताब्दीको यो दोस्रो दशकको नयाँ उचाईमा लिएर जान चाहिरहेका प्रष्ट्याए । उनले अघि भने,‘त्यसका लागि प्रवुद्ध समूहको तर्फबाट हामीले त्यो अभ्यास, खासगरी विगतजस्तो तित्ततापूर्ण, समस्याग्रस्त, एकले अर्कालाई नराम्रो मान्नुपर्ने यस्तो अवस्थाबाट मुक्त होस् भन्ने त्यो उचाईबाट नेपाल र भारत सम्बन्धलाई अगाडि लैजान चाहिरहेका छौं ।’



प्रतिक्रिया दिनुहोस्