१० माघ, काठमाण्डौ । आजदेखि शहीद सप्ताह सुरु भएको छ । आगामी माघ १६ गते विशेष कार्यक्रम गरी शहीद दिवस कार्यक्रम मनाइदैछ । हरेक वर्षको माघ १६ गते शहीद दिवस मनउने गरिन्छ ।
नेपालमा प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्नेहरुको सम्झनामा मनाइने शहीद दिवसका अवसरमा एक हप्तासम्म शहीद सप्ताह मनाउने गरिएको छ ।
सोही अनुसार आजदेखि १६ गतेसम्म सप्ताहकौ रुपमा विभिन्न कार्यक्रम गरिन्छ ।
एकतन्त्रिय जहाँनिया राणा शासन विरुद्ध संघर्ष गर्ने क्रममा प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदको सम्झनामा सप्ताह व्यापी रुपमा शहीद दिवश मनाउने गरिएको हो ।
शहीद सप्ताहलाई व्यवस्थित बनाउन काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । शहीद सप्ताहको पहिलो दिन आज टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली दिइएको छ ।
त्यस्तै माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुने मूल समारोह समितिले जनाएको छ ।
यस्तै माघ १६ गते सहिद दिवसका दिन, बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोली सहितको प्रभातफेरी विहान नौ बजे सहिद स्मारक लैनचौर पुगेपछि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।