Logo

राजपा-फोरमवीच कुनै खट्पट् छैन, सहमतिमै मुख्यमन्त्री बनाउँछौं : यादव



काठमाडौं, १० माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकार निर्माणको लागि अहिले समय बाँकी भएकोले आफूहरुको प्राथमिकतामा सरकार नभएको स्पष्ट पारे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले अब बन्ने सरकारको प्राथमिकतामा के–के पर्छन र त्यो सरकारले आफूहरुको आवश्यकत्ता महशुस गर्छ कि गर्दैन भन्ने कुरा हेर्न बाँकी नै रहेको बताए । उनले भने,‘त्यसैले यी कुराहरु हेर्न बाँकी नै छ, अहिले नै सरकारमा जाने कि नजाने भन्ने कुरा प्रधान होईन, यो समय र सान्दर्भिक पनि छैन्।’

उनले अहिलेको निर्वाचनको मतपरिणाम अनुसार वाम गठबन्धनलाई राष्ट्रिय सरकार र २ नम्बर प्रदेशमा आफूहरुको नेतृत्वमा सरकार बन्नेगरि मत प्राप्त भएको बताए । उनले भने,‘राजपा र फोरमको गठबन्धनले २ नम्बर प्रदेशमा सरकार बनाउँछ, राजपा एउटा विचारमा आधारित पार्टी हो।’

उनले आफूहरुलाई व्यक्तिमा कुनै गुनासो नभएको पनि बताए । उनले भने,‘हामी निषेधको राजनीति गर्दैनौं, समय र आवश्यकत्ता ध्यानमा राखेर अघि बढ्ने कुरा हो, अहिले हाम्रो मुख्य प्राथमिकता भनेको संविधान संशोधन हो।’

यादवले संविधानमा व्यापक त्रुटि रहेको कुरा अहिले प्रमुख दलहरुवीचको विवादले छताछुल्ल पारिसकेको पनि जिकिर गरे । उनले भने,‘एमालेका साथीहरु अहिले छट्पटाउन थालेका छन्, हामीले हिजो भन्दै आएको कुरा अहिले उहाँहरु प्रमुख दलका नेताहरु नै भन्नथाल्नुभएको छ, यसलेपनि पुष्टि गर्छ कि यो संविधानमा धेरै गडबडी छ।’

उनले संविधान संशोधन वा परिवर्तनको कुनै विकल्प नरहेको समेत जिकिर गरे । अहिलेकै अवस्थामा यो संविधान लागु हुनै नसक्ने उनको ठोकुवा थियो । उनले भने,‘यो त कस्तो देखियो भने हात्तीको शरिरमा उँटको टाउँकोजस्तो भयो, त्यसैले संशोधन अनिवार्य छ।’

२ नम्बर प्रदेशको मुख्यमन्त्री सहमतिमै चयन हुने उनको विश्वास थियो । उनले भने,‘२ नम्बर प्रदेशमा हाम्रो गठबन्धनको सरकार बन्दैछ, हिजोसम्म हामी राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेद्धवार चयनमा व्यस्त थियौं, अब आजबाट राजपा र फोरमवीच छलफल सुरु भएको छ।, हामी आगामी दुई वर्षभित्र प्रदेश सरकारले गर्नुपर्ने कामका प्राथमिकता र अन्य कुराका बारेमा छलफलमा जुटेका छौं, छलफलपछि एउटा विन्दुमा पुग्छौं।’

योग्य र सक्षम अनि विकाससम्बन्धी भिजनरी व्यक्तिलाई नै मुख्यमन्त्री बनाईने उनको विश्वास थियो । उनले भने,‘हाम्रो गठबन्धनवीच कुनै विवाद छैन, सहमतिमै हामी सबै कुरा टुँगो लगाउँछौं।’



प्रतिक्रिया दिनुहोस्