Logo

बुधबार नेप्सेमा सामान्य वृद्धि, परिसुचकले १४ सय अंक छुन सकेन



१० माघ, काठमाण्डौ । साताको चौथो दिन बुधबारको कारोबारमा सामान्य अंकको बृद्धि भएको छ । बजार खुुलेको २० मिनेटसम्म लगातार जस्तै बढेको बजार त्यसपछि फेरि साढे १२ बजेसम्म ओरालो लागेको थियो । अन्तिम समयमा नेप्से परिसुचकमा १ दशमलव ६९ अंकले बढेर बन्द भएको हो ।
शेयर बजार सूचक नेप्से बुधबार १ दशमलव ६९ सामान्य अंकले बृद्धि भएर १ हजार ३ सय ९४ दशमलब सात तीन विन्दुमा बन्द भएको छ । त्यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचकमा शून्य दशमलव ३६ अंकले बृद्धि भएर २ सय ९४ दशमलव ३४ अंकमा बन्द भएको छ ।

समग्रमा बजार ०.१२ प्रतिशतले बढेको छ । बुधबारको कारोबारमा कुल १५६ कम्पनीको ९ लाख ३८ हजार ३ सय ८ कित्ता शेयरहरुको खरिदविक्री भएको छ । मंगलबार ३२ करोड रुपैया बराबरको कारोबार भएको थियो भने बुधबार कारोबार रकममा गिरावट आएर २६ करोड १५ लाख २५ हजार ५ सय ५५ रुपैया बराबरको कारोबार भएको छ ।

नेप्सेमा कारोबार भएका १० वटा समूहमध्ये ३ वटाबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । फाइनान्स, उत्पादन तथा प्रशोधन र लघुवित्तबाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक १६.१३ अंकले उकालो लागेर ७ हजार १ सय ४ दशमलव २८ अंकमा बन्द भएकोछ ।

त्यस्तै होटल समू १४ दशमलव ७७ अंकले, बैंकिङ समूह शुन्य दशमलव ३२ अंकले, विकास बैंक समूह ७ दशमलव ८२ अंकले, जलविद्युत समूह ३ दशमलव १३ अंकले, ट्रेडिङ समूह ४ दशमलव २२ अंकले र अन्य समूह ५ दशमलव ०८ अंकले बढेका छन् । कारोबार रकममा नेपाल फाइनान्सको संस्थापक सेयरले अग्रता लिएको छ । यस कम्पनीको ३ करोड ५४ लाख रुपैयाँभन्दा धेरैको संस्थापक सेयर कारोबार भएको हो ।

यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र बुटवल पावर कम्पनी परेका छन् । दिनभर रातो रंगमा खेलेको नेप्से बजार बन्द हुने बेला भने हरियो भएको छ । निकै लामो समयपछि सूचक हरियो देख्न पाउँदा लगानीकर्ता हर्षित भएका छन् । दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहँदा बजार सुस्त हुँदा आम लगानीकर्तामा भने अन्यौलता छाएकोछ ।

पछिल्लो समय नेप्से सूचक सगसगै कारोबार रकममा समेत गिरावट आएकोछ । बुधबार सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ । कम्पनीको ३ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भएको हो । त्यस्तै नबिल बैंक लिमिटेडको पनि १ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी सर्वा्धिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर मूल्य ५ दशमलव ६४ प्रतिशतले बढेको छ । त्यसैगरी गुमाउनेमा भने हिमालयन डिस्टीलरी लिमिटेडका शेयरधनी रहेका छन् कम्पनीको शेयर मूल्य आज ५ दशमलव ८० प्रतिशतले घटेको छ ।।



प्रतिक्रिया दिनुहोस्