Logo

ग्राण्डडिजाइनमा फसेका देउवा



डा.दीपेश केसी : गिरिजाप्रसाद कोइराला तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि बारम्बार भन्थे—ग्राण्डडिजाइन । उनको यो शब्दको रहस्यबारे धेरैले फरक फरक अनुमानहरू लगाए । कोइरालाको निधनसँगै यो वाक्यभित्रको अन्र्तवस्तु अनुमानमा सिमित रह्यो । यसबारे उनले कहिल्यै सार्वजनिक रूपमा स्पष्ट पारेनन् । चतुर गिरिजाप्रसाद कोइरालाले ग्राण्ड डिजाइन भनी भनी देशभित्र र बाहिर समेतबाट राजनीतिक लाभ लिएका थिए । तर, ग्राण्डडिजाइन गरेर विपक्षीलाई कमजोर बनाउने चतुर कोइरालाका उत्तराधिकारीहरू रणनीतिक रूपमा कमजोर ठहरिए । न त उनीहरूका सहयोगीमा रणनीतिक चार्तुयता देखियो ।

सोझा सुशील कोइराला परिस्थितिजन्य अवस्थाबाट अवसरको उचाईमा पुगेका थिए । उनीसँग काम गरेका पूर्व सुरक्षा अधिकारी देखि उच्च कर्मचारी समेत सुशीललाई सम्झेर ‘बरा’ भन्छन् । सुशील रणनीति बनाउन कमजोर भएपनि पार्टी भित्र र बाहिरका क्षमतावान् व्यक्तिहरूको राय सल्लाहमा चल्थे । जिब्रो बोलेपछि लुक्छ तर बोल्नेले दुख पाउँछ भन्ने कालिदासको कविता सम्झदै थोरै बोल्ने धेरै सुन्ने स्वभावले सुशीललाई सफलतको उचाईमा पु¥याएको थियो । गिरिजाप्रसादले बनाउने गरेका रणनीतिहरूमा सहभागी भएपनि उनी रणनीति बनाउने क्षमता राख्दैनथिए । तैपनि, उनी निर्णय गर्दा राय सल्लाह लिएर ढिलो गरी टुंगोमा पुग्थे । जोखिम लिन नसक्ने नेताको परिचय बनाइरहँदा संविधान जारी गर्ने अलमल गर्दै अन्तमा साहस जुटाएर राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई छक्क पारेका थिए ।

सुशीलले जीवनको उत्तराद्र्धमा प्रधानमन्त्री बनेर इतिहास रच्दै राजनीतकि उचाई बनाएका थिए । तर, लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने नाममा प्रधानमन्त्रीको चुनाव लडेर हार्दा उनी ग्राण्डडिजाइनमा फसेका थिए । सादगी नेताको परिचय बनाएर गएका सुशीलको निधनसँगै कोइराला परिवारको हातबाट नेपाली काँग्रेसको नेतृत्व सुदुरपश्चिमको सामान्य परिवारमा जन्मिएका शेरबहादुर देउवाको हातमा पुग्यो ।

सनकी देउवा

हक्की तर सनकी स्वभावका देउवा भाग्यमा विश्वास गर्ने नेतामा गनिन्छन् । ज्योतिषको धेरै विश्वास गर्ने उनी चारपटक देशको प्रधानमन्त्री बनेर ज्योतिषको भविष्यवाणी उदृत गर्दै सातपटक प्रधानमन्त्री बन्ने दाबी गरे । प्रधानमन्त्री त उनी भविष्यमा पनि बन्न सक्लान् तर हरेक पटक प्रधानमन्त्री बन्दा देउवा ग्राण्डडिजाइनमा पारिए । तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ मा सत्ता हातमा लिंदा देउवा प्रधानमन्त्री थिए ।

काँग्रेस फुटाएर नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेका तत्कालिन प्रधानमन्त्री देउवामाथि त्यतिबेला राजालाई प्रजातन्त्र बुझाएको गम्भीर आरोप लाग्यो । काँग्रेसको विभाजन देखि उनको सत्तारोहण सबै ग्राण्डडिजाइन अनुसार थियो भन्ने तथ्य तत्कालिन राजाले सत्ता हातमा लिदा छर्लङ्ग भयो । राजाबाट पुनः प्रधानमन्त्री बनाइदा रौसिएर ‘गोरखाली राजाबाट न्याय पाइयो’ भने ।

तर, तिनै राजाबाट ‘असक्षम’ भनी हटाइए । यस घटनाक्रमबीच गिरिजाप्रसादले ग्राण्डडिजाइन शब्द उच्चारण गरिरहन्थे । राजाको प्रत्यक्ष शासन अन्त गर्न ऐतिहासिक जनआन्दोलन भयो । देउवा प्रधानमन्त्रीको कुर्सीबाट टाढा धकेलिए । १२ वर्षमा खोलो फर्कने नेपाली उत्तिलाई सत्य सावित गर्दै पुनः प्रधानमन्त्रीको कुर्सीमा पुगे ।

प्रधानमन्त्री बन्दै गर्दा सम्म देउवा एकपछि अर्को काण्डै काण्डमा फस्दै गएका थिए । यी सबै ग्राण्डडिजाइन अनुसार थिए, जुन अहिलेको चुनावी नतिजा र त्यसपछिका घटनाक्रमबाट उजागर हुन्छ । आफूलाई प्रधानमन्त्री बनाउने शर्तमा देउवाले प्रचण्डलाई प्रधानमन्त्रीका लागि सहयोग गरेका थिए । प्रधानमन्त्रीको कुर्सीमा बसेका प्रचण्डले सकारात्मक कामको जस लिइरहँदा नकारात्मक कामको जसको भारी देउवाले बोके । लोडसेडिङ्ग अन्त, काठमाडौंबाट तराई जोड्ने द्रुत मार्ग नेपाल आफैले बनाउने जस्तो ऐतिहासिक कामको जस प्रचण्डले लिए ।

तर, आइजीपी प्रकरण हुँदै महाभियोग र राजदूत नियुक्तिको विवादास्पद निर्णयमा देउवालाई दोषी देखाइयो । प्रधानमन्त्रीको कुर्सीमा बसेर निर्णय गर्ने प्रचण्ड थिए तर देउवा बदनाम बनाइए । देउवाले आफू अनुकूलको व्यक्तिलाई आइजीपी बनाउने हठ लिएको सूचना छताछुल्ल भयो । आफैले काँग्रेस पार्टीबाट सरकारको नेतृत्व गर्न पठाएको तत्कालिन उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई समेत दबाबमा पार्दा उनी राजीनामा दिने निर्णयसम्म पुगे । आइजीपी प्रकरण ग्राण्डडिजाइनको बिन्दु मात्र थियो । त्यसपछि लहरो तान्दा पहरो झ¥यो ।

प्रचण्डको रणनीतिक पासोमा पर्दा

देउवा प्रधानमन्त्रीको कुर्सीमा पुग्दा प्रचण्डपुत्री रेणु दाहालको ‘प्रचारक’ सम्मको हदमा तल झरे । नेपाली काँग्रेसको सभापतिले कुनै अर्को दलको कार्यकर्ताको चुनावी प्रचारमा प्रत्यक्ष सहभागी भएको सम्भवतः यो पहिलो घटना थियो । रेणुलाई जिताउन जे जस्ता हतकण्डा भए त्यसमा प्रचण्डभन्दा देउवा बदनाम भए । काँग्रेसको गढ भत्काउने योजना अनुसारको घटनामा आफै सहभागी बने देउवा । काँग्रेसका होनहार युवा नेतामध्ये कतिपय चितवन पुगेर देउवाको आदेशको तामेली गरे । जग हसाउने यो घटनामा दोष काँग्रेसले लियो विजयको माला प्रचण्डपत्री रेणुले पहिरिने वित्तिकै भनेकी थिइन्— अब बुवा प्रचण्डका लागि चितवनमा चुनाव लड्न सजिलो भयो । नभन्दै प्रचण्ड चितवनबाट चुनाव लडेर जिते । त्यतिमात्र नभएर चितवनलाई आगामी पाँच वर्ष प्रतिनिसभातर्फ काँग्रेसमुक्त बनाए ।

पार्टीभित्र र बाहिरबाट कलंकको दाग बढ्दै जाँदा समेत देउवाले प्रचण्डका लागि गुन लगाइरहे । दुई नम्बर प्रदेशमा भएको स्थानीय चुनावमा माओवादीका कतिपय उम्मेदवारलाई अप्रत्यक्ष रूपमा सघाउन कार्यकर्तालाई लगाएका थिए । दुई चरणको चुनावमा माओवादी कमजोर देखिएको थियो । तर, तेस्रो चरणको चुनावमा आइपुग्दा माओवादी काँग्रेसपछि बढी स्थान जित्न सफल भयो ।

देउवालाई लागेको थियो माओवादीसँग भित्री रूपमा चुनावी तालमेल गरेर जान सकिन्छ । तर, रणनीतिक रूपमा चतुर प्रचण्डले यु टर्न गरे । उनी कम्युनिष्ट एकता भन्दै एमालेसँग तालमेल गर्न पुगे । यतिबेला सम्म सपार्न नसक्ने गरी धेरै बिग्रिसकेको थियो । लोकतान्त्रिक शक्तिबीच एकता भन्न अप्ठ्यारो मान्नुपर्ने अवस्थामा देउवा पुगिसकेका थिए किनभने राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनमा अध्यक्ष कमल थापाले देउवामाथि सिधै दोष लगाएका थिए । राप्रपा विभाजन जुन उक्साहटमा भएको थियो त्यो ग्राण्डडिजाइनको एउटा हिस्सा मात्र थियो ।

लोकतान्त्रिक शक्ति अन्र्तगतका तीनवटा राप्रपा चुनावमा नराम्रो पराजय व्यहार्न पुगेका छन् । राप्रपाका एकमात्र विजयी उम्मेदवार राजेन्द्र लिङ्देनको विजयमा कम्युनिष्टको योगदान रह्यो । मधेश केन्द्रित शक्ति समेत काँग्रेससँग चुनावी तालमेलमा सहमत भएनन् । उल्टै धनुषामा काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिविरूद्ध राजपा नेता राजेन्द्र महतो खडा भएका थिए । काँग्रेसले चुनाव जित्नसक्ने क्षेत्रमा मधेश केन्द्रित दलका हस्तीहरू खडा भएर जित हासिल गरे ।

चुनावपछिका घटनाक्रम

चुनावी नतिजाले मात्र नेता विशेषको क्षमता र परिपक्वताको मापन हुँदैन । लोकतन्त्रमा हारजीत हुन्छ । मूल विषय कुनै नेता विशेषले लिएको निर्णयले देशले के पायो ? यो मुख्य विषय हुन्छ । देउवा एकपछि अर्को काण्डमा फस्दै गर्दा देशले संविधान कार्यान्वयनको मार्ग पाएको छ । काँग्रेस हारेर पनि कठिनतम चुनाव सम्पन्न भएको छ ।

स्थानीय निकायको चुनाव हुने नहुनेमा आशंका थियो भयो, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुनेमा अन्तिम समयसम्म आशंका थियो तर भइछाड्यो । सबै षड्यन्त्रलाई चिर्दै तीन चरणको चुनाव सम्पन्न गर्ने दायित्वलाई देउवा नेतृत्वको सरकारले पूरा ग¥यो ।

हठी तर हक्की देउवाले धेरै गल्तीहरू गरेर देशमा जनताका प्रतिनिधिले निर्माण गरेको संविधानलाई कार्यान्वयन हुने तहमा पु¥याए । भनिन्छ बादल जतिसुकै कालो भएपनि त्यसमा चाँदीको घेरा हुन्छ । देउवाको कार्यकालमा उनका निर्णयले धेरै काला बादलहरू मडारिए । तर, अन्तिम नतिजा उनको पक्षमा नआएपनि देशको पक्षमा आयो । हारेर पनि देशलाई जिताउने बाटो बनाए । ग्राण्डडिजाइनमा फसेपनि संविधान कार्यान्वयनको मार्ग निर्माणलाई अवरुद्ध हुन दिएनन् ।

देउवाले चुनाव सम्पन्न गराउने जस लिएपनि नतिजा काँग्रेस पार्टीको पक्षमा पार्न सकेनन् । यस अवस्थामा सबैभन्दा खतरनाक विषय देशमा उग्र राष्ट्रवादी र उग्र क्षेत्रीयतावादी चुनाव जितेर आएका छन् । उग्र राष्ट्रवादी बनेको छ— एमाले । उग्र क्षेत्रीयतावादी बनेको छ—राष्ट्रिय जनता पार्टी । सबैभन्दा मननीय विषय यी दुवैबीच चुनावमा भित्री साँठगाँठ देखिएको छ । तराई मधेशको चुनावी नतिजाले यसलाई पुष्टि गरेको छ । भविष्यमा सरकार निर्माणका क्रममा दुवै मिलेमा आश्चर्य नमाने हुन्छ ।

विपरित धारका दुई उग्र शक्तिहरूको सत्ताका लागि मेलमिलाप र देशलाई दुरगामी असर पार्ने विषयमा देखिएको द्वन्द्वले देशलाई अर्को भड्कालोमा त पु¥याउने होइन ? एमालेको उग्र राष्ट्रवादको नाराले तत्काल जनतालाई आकर्षित गरेको छ भने उग्र क्षेत्रीयतावादी शक्ति राजपाको बहुराष्ट्रसम्मको विषयले मधेशवासीलाई आकर्षित गरेको छ । यस्ता क्रियाकलापले देशको एकता र अखण्डता जोखिम पर्ने खतरा निम्तन सक्ने सम्भावनालाई नकार्न सकिदैन । विकसित घटनाक्रमहरू ग्राण्डडिजाइन अन्र्तगत नै हुन् । चुनाव गर्ने जस लिएका देउवाले अबका केही वर्षसम्म घट्ने घटनाको समेत जस अपजस लिनुपर्ने हुन्छ । किनभने मार्ग उनैले कोरेका हुन् । उग्रवादी शक्तिलाई रणनीतिक चार्तुयताबाट कमजोर बनाउनुपर्नेमा कसैको ग्राण्डडिजाइनमा काँग्रेस जस्तो जिम्मेवार दलको सभापति फस्नु महाभुल हो ।



प्रतिक्रिया दिनुहोस्