Logo

प्रदेश नं ६ मा १२ को उम्मेदवारी



सुर्खेत, १० माघ (रासस) : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसबाट चार, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार दलित सदस्यतर्फ दुई, महिला सदस्यतर्फ चार, अपाङ्ग/अल्पसंख्यकतर्फ दुई र अन्यमा चार जनाको उम्मेदवारी परेको छ ।

काँग्रेसबाट दलिततर्फ सल्यानका ७० वर्षीय मित्रलाल सार्की, महिलातर्फ मुगुकी सूर्यदेवी मल्ल, खुल्लातर्फ कालीकोटका ७२ वर्षीय विष्णुबहादुर शाही र अपाङ्गतर्फ पश्चिम रुकुमका ६८ वर्षीय गोपालप्रसाद शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेबाट दलिततर्फ कालीकोटका ५५ वर्षीय नरपति लुवार, हुम्लाकी कविता बोगटी र सुर्खेतकी नन्दा चपाई, खुल्लातर्फ जाजरकोटका भैरवसुन्दर श्रेष्ठ र पश्चिम रुकुमका ठगेन्द्रप्रकाश पुरीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै माओवादी केन्द्रबाट महिलातर्फ मुगुकी युटुन तामाङ, खुल्लातर्फ जाजरकोटका कालीबहादुर मल्ल र अपाङ्ग÷अल्पसंख्यकमा कालीकोटका जीवन बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रियसभामा ६ नं प्रदेशबाट महिला तीन, अपाङ्ग÷अल्पसंख्यक एक, दलितबाट एक र अन्यबाट तीन जना निर्वाचित हुनेछन् ।

वारेसमार्फत उम्मेदवारी दर्ता
माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा सिफारिश हुनुभएकी मुगुकी तामाङले हेलिकोप्टर नपाउँदा वारेसमार्फत उम्मेदवारी दिनुभएको छ ।

खराब मौसमका कारण हेलिकोप्टर नउडेपछि उहाँले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको हो । तामाङले माओवादी केन्द्रका केन्द्रीय सदस्य मुगुका कालीबहादुर रावललाई वारेस राखेर उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले र माओवादी केन्द्रले भागबण्डाका आधारमा उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रको सहमतिअनुसार एमालेले पाँच र माओवादी केन्द्रले तीन उम्मेदवारलाई मैदानमा उतारेको छ ।

यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ६ का नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्य गरी १९८ मतदाता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्