Logo

राष्ट्रियसभाका उम्मेदवारप्रति गोकर्ण विष्टको विमति



११ माघ, काठमाण्डौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले योग्य नेता कार्यकर्ता हुँदा हुँदै पनि विभिन्न आवश्यकताका कारण पार्टीले सबैलाई समेट्न नसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सचिव विष्टले भने, “उम्मेदवारी दिएका नेताहरुभन्दा योग्य नेता कार्यकर्ता हुन सक्दछन् । विभिन्न आवश्यकता र सन्दर्भका आधारमा उम्मेदारी चयन भएको छ । त्यसकारण यसलाई अरु ढंगले प्रस्तुत गर्न चाहन्न ।”

राष्ट्रियसभामा पार्टीका नेता कार्यकर्ताभन्दा पनि राष्ट्रिय व्यक्तित्व भएकालाई उम्मेदवार बनाउनुपर्ने भए पनि राजनीतक दलका नेता कार्यकर्तालाई नै प्रतिनिधित्व गराउने परिपाटी बसेको विष्टले बताए । “त्यसको एउटा निरन्तरता मात्रै हो ।” विष्टले भने ।

“राष्टियसभामा राष्ट्रिय भूमिकामा महत्वपूर्ण योगदान र प्रभाव दिन सक्ने व्यक्तित्वहरु, जो पार्टीको दायराभन्दा माथि उठेका व्यक्ति भएदेखि राष्ट्रियसभाको गरिमा बढ्थ्यो ।” विष्टले भने ।

पार्टीका आफ्ना आवश्यकता, कठिनाई र सन्दर्भलाई सम्बोधन हुने गरी उम्मेदार छनौट गर्नुपरेको विष्टको भनाई छ । एमालेले बनाएका उम्मेदवारहरुले राष्ट्रियसभाको गरिमा बढाउन सक्छन् त भन्ने धमलाको प्रश्नमा विष्टले भने, “यसप्रति मेरो थप टिप्पणी छैन । संस्थागत रुपमा नै पार्टीले निर्णय गरेको हो ।”

“राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भूमिका राख्ने व्यक्तित्वहरु उपस्थित हुँदा सुनमाथि सुगन्ध हुन्थ्यो । तपाईले भनेका कुरामा मेरो विमति छैन ।” विष्टले भने ।
सचिव विष्टले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिच छलफल र संवाद जारी भएको बताउँदै पार्टी एकता भएरै छाड्ने बताए ।



प्रतिक्रिया दिनुहोस्