Logo

नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा



इलाम, १२ माघ (रासस) : भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् । भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयाँैं ट्रक अलपत्र परेका छन् । अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन् ।

अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथरका अदुवा कृषक चिन्तित् बनेका छन् । अदुवा लिएर काँडकभिट्टा पुगेका ट्रक अहिले धमाधम फिर्ता हुन् थालेका छन् ।

“भारतीय पक्षले विभिन्न बहाना बनाएर अदुवा निर्यातमा रोक लगाएको छ,” बिब्ल्याँटेका अदुवा व्यापारी कृष्ण पौडेलले भन्नुभयो– “भारतले बारम्बार अदुवा निकासी ठप्प पारेर किसान र व्यापारीलाई मारमा पारेको छ ।” नेपाली अदुवामा मिसावट नभएको उहाँको भनाइ छ ।

पटक÷पटक भारतले नेपाली अदुवा निकासीमा रोक लगाएपछि व्यापारी मारमा छन् । दुई महिनाअघि मात्रै चार गाडी अदुवा एकहप्ता काँकडभिट्टामा राखेर निकासीको पहल गर्दा नसकेपछि विर्तामोड गोदाममा ल्याएर राखिएको पौडेलले बताउनुभयो ।

बिक्री हुने आशामा कृषकले धमाधम अदुवा खन्न थालेका छन् । अदुवा खनेर बिक्रीका लागि तयार गरेका फाकफोकथुम गाउँपालिका–२ का गोपीकृष्ण तिम्सिना अदुवा निकासी ठप्प भएपछि चिन्तित हुनुहुन्छ ।

“भाउ पाइएला की भन्ने आशामा अदुवा खनियो, अदुवा निकासी ठप्प पा¥यो भन्ने सुनेपछि चिन्तित छु,” उहाँले भन्नुभयो– “निकासी खुलेन भने लाखौँंको अदुवा बारीमै सड्छ ।” गतवर्षभन्दा यसपाली मूल्य बढी पाइएला भनेर अधिकांश कृषकले प्रतिमन रु दुई हजारमा बीउ अदुवा खरिद गरेर रोपेका थिए ।

यसपाली अदुवा प्रतिमन रु ५०० सयदेखि रु ७ सयसम्म किनबेच हुँदै आएको छ । तर भारत निकासी ठप्प भएपछि ग्रामीण भेगमा अदुवा कारोबारनै ठप्प भएको स्थानीय व्यापारी इन्द्र अधिकारी बताउनुहुन्छ ।

अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भारतीय पक्षसँग तत्काल अदुवा निकासी सहज बनाउनका लागि पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।
–––



प्रतिक्रिया दिनुहोस्