Logo

भारतीय दुतावासले मनायो ६९ औं गणतन्त्र दिवस (फोटोफिचर)



काठमाडौं, १२ माघ । नेपालस्थित् भारतीय दुतावासले ६९ औं गणतन्त्र दिवस मनाएको छ ।

नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराएर र भारतीय राष्ट्रपति रामनाथ कोभिन्दको सन्देश वाचन गरेर सुनाएका थिए । झण्डोत्तलन कार्यक्रममा झण्डै एक हजार भारतीय नागरिक तथा भारतका मित्रहरुको सहभागिता रहेको थियो ।

नेपालस्थित् केन्द्रिय विद्यालय, द मोर्डन ईण्डियन स्कुल र भारतीय साँस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले राष्ट्रिय गाना गाएका थिए भने उक्त प्रस्तुतिमा नेपाल आर्मी ब्याण्डको सहभागिता थियो ।

उक्त अवसरमा, राजदुत पुरीले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा राजदुत पुरीले ३० वटा एम्बुलेन्सका चावी समेत हस्तान्तरण गरेका थिए । त्यस्तै, विभिन्न अस्पताल, गैर–नाफामुलक संस्था र शैक्षिक संस्थाहरुलाई ६ वटा बसका साँचो हस्तान्तरण गरे ।

सन् १९९४ देखि अहिलेसम्म भारतीय सरकारले नेपाललाई ६६० वटा एम्बुलेन्स र १३० वटा बसहरु प्रदान गरेको दुतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
त्यस्तै विभिन्न शैक्षिक संस्थाहरुलाई र पुस्ताकालयलाई समेत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

लगत्तै राजदुत पुरीले उक्त गणतन्त्र दिवसको अवसरमा ईण्डिया हाउसमा रिसेप्सन पार्टी आयोजना गरेका थिए । नेपाल–भारत द्धिपक्षीय सम्बन्धको ७० औं वर्षगाँठ पनि मनाईएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपनि नन्दबहादुर पुन थिए । उक्त भोजमा करिब १५ सय अतिथिहरुको सहभागिता थियो । नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, चर्चित व्यक्तित्वहरुको रिसेप्सनमा सहभागिता थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्