Logo

किन गएनन लैनचौर ओली ?



काठमाडौं, १२ माघ । काठमाडौंस्थित् भारतीय दुतावासले ६९ औं गणतन्त्र दिवस आज धुमधामका साथ मनाएको छ ।

नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले गणतन्त्र दिवसको अवसरमार आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, राजनीतिक दलका शीर्ष नेताहरु, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरुको बाक्लो उपस्थिति थियो ।

तर कार्यक्रममा निकै महत्वका साथ हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थिति नभएको देख्दा धेरैले जिब्रो टोकेका थिए । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष ओलीलाई विशेष महत्व दिएर फोनवार्ता गरिरहेका छन् । निर्वाचन सम्पन्न भएपछिको यो एक महिनाको अवधिमा मोदीले ओलीसँग दुई पटक सम्वाद गरिसकेका छन् । भारतीय राजदुत पुरीले मोदी–ओलीवीच फोनवार्तालाई विशेष सम्बन्धको द्योत्तकको रुपमा चित्रण गरेका छन् ।
हिजो रिपोर्टर्स क्लबको विशेष साक्षात्कारमा पुरीले मोदीले दोहोर्याएर ओलीलाई फोन गर्नुको विशेष खुलासा समेत गरेका थिए । उनका अनुसार ओली मोदीको विशेष प्राथमिकतामा परेका छन् ।

तर भारत मामलाका नेपाली जानकार प्राचार्य लोकराज बरालले मोदीले किन यसरी ओलीलाई प्राथमिकतामा राखे भन्नेबारे प्रश्न गरेका छन् । पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनले भने,‘यो विषयमा मोदी चुकेका छन् ।’

खैर, जे होस् । तर नेपालमा निर्वाचन सम्पन्न भएर एउटा जनमत आइसकेपछि भारतले वाम गठबन्धनका नेताहरुसँग सम्बन्ध सुधार गर्न चाहेको प्रष्ट देखिन्छ। विशेषगरि नेपालको राजनीतिक स्थायित्व र विकासमा भारतको ध्यान छ । सोही अनुसार मोदीले नेपालका प्रमुख दलका नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । उनले निर्वाचन सम्पन्न भएलगत्तै प्रमुख दलका नेताहरु क्रमशः शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका थिए । उनले निर्वाचन सफल रुपमा सम्पन्न भएकोमा बधाई समेत दिएका थिए ।

अब कुरा गरौं आज दुतावासले आयोजना गरेको दिवा भोजमा ओली किन गएनन भन्ने विषयको । एमाले अध्यक्ष ओलीलाई निम्तो दिन राजदुत पुरी आँफै उनको निवास बालकोट पुगेका थिए । भेटमा ओलीले आफू सहभागी हुने मिठो वचन दिएका थिए । तर, दुर्भाग्य उनी आजको कार्यक्रममा गएनन् । बरु उनी एउटा कार्यक्रममा भाग लिनको लागि पोखरा हानिए । र, राजदुत पुरीलाई आफू उपस्थित् हुन नसक्ने सन्देश प्रवाह गरे ।

नेपालमा संविधान जारी भएपछि भारतसँगको सम्बन्धान निकै उतारचढाव आएको थियो । संविधान संशोधनको विषयलाई लिएर द्धिपक्षीय सम्बन्धमा निकै तित्तता छाएको थियो । भारतले त्यो वीचमा नाकाबन्दी लगाएर गलत गरेको भन्दै अन्र्तराष्ट्रिय रुपमै कडा आलोचना ओलीले गरेका थिए । तत्कालिन प्रधानमन्त्रीको रुपमा ओली र भारतवीच निकै आरोहअवरोहको सम्बन्ध थियो । हुन त नाकाबन्दी अघिका भारतीय दुतावासको हरेक जो कार्यक्रम (डिनर तथा लञ्च) रिसेप्सनमा उनी जान्थे । दुतावासले आयोजना गर्ने सबै खाले डिनर तथा लञ्च रिसेप्सनमा एमालेबाट ओली उपस्थिति हुने गरेका ईतिहाँस छन् ।

तर नाकाबन्दीपछि उनी दुतावास पुगेको अहिलेसम्म एकिन भएको छैन । उनले अहिलेसम्म त्यसयता दुतावास परिसरमा पाईला पनि नटेकेको विशेष सूत्रको दाबी छ । तर यो बीचमा नेपाल–भारत सम्बन्धमा निकै राम्रो वातावरण बनेको छ । खासगरी, निर्वाचनमा वाम गठबन्धनले झण्डै दुई तिहाई मत हाँसिल गरेपछि र अब ढुक्कले पाँच वर्षको लागि सरकार बनाउने वातावरण बन्ने भएपछि भारतले आफूलाई सोही अनुसार कोर्स करेक्सन गरेको पाईन्छ । यसको लागि मोदीले आँफै अग्रसर लिएका छन् ।

उनले पटक-पटक ओलीलाई फोन गरेर सम्बन्ध सुमधुर बनाउने संकेत गरिसकेका छन् । एमाले नेताहरुले पनि अब बन्ने सरकारले भारतसँग विशेष सम्बन्ध राखेर जाने सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा एमाले सचिव प्रदिप ज्ञवालीले पनि सोही कुरा बताएका थिए ।

आजको ६९ औं गणतन्त्र दिवसको दिन ओली आउनेमा स्वयम् राजदुत पुरी ढुक्क थिए । ओलीलाई निमन्त्रणाा दिन पुरी ओली निवास बालकोट पुगेको उनी निकट उच्च स्रोतले जनाएको थियो । तर आज विहान एक्कासी ओलीको पुरीलाई आफू आउन नसक्ने फोन आयो र आएनन् पनि । कार्यक्रममा राजदुत पुरीको चाहना अधुरो भएकोमा खिन्नता भाव प्रष्ट देखिन्थ्यो ।

तर पनि पुरीले अतिथिहरुलाई खासगरी प्रधानमन्त्री देउवा, प्रचण्ड, माधव नेपाल, शीर्ष नेताहरु, उपराष्ट्रपतिसम्मलाई स्वागत तथा सत्कारमा हार्दिकता खुलेरै देखाए । कतिपयले दुतावास परिसरमा टिप्पणी गर्दै थिए,‘खोई त ? ओलीजी त आउन भएनछ नि ? आउनुहोला भनेको त ।’



प्रतिक्रिया दिनुहोस्