Logo

पर्यटन क्षेत्रको समग्र विकासको लागि नयाँ गुरुयोजना आवश्यक छ : धमला



काठमाडौं, १२ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपालको पर्यटन क्षेत्रको समग्र विकासको लागि नीतिगत रुपमा आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

टुरिष्ट गाईड एशोसियसन अफ नेपालको २४ औं साधारण सभालाई आज सम्बोधन गर्दै पत्रकार धमलाले यस्तो बताएका हुन् । उनले भने,‘नेपालमा ५० लाख पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ सरकारले पूर्वाधार विकासमा अब ध्यान दिनुपर्छ।’

मुलुकमा निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्वको यात्रा सुरु भएकोले समृद्धि हाँसिल गर्न पर्यटन महत्वपूर्ण क्षेत्र भएको उनको तर्क थियो । धमलाले भने,‘त्यसैले हामीले यो क्षेत्रको समग्र विकासमा विशेष ध्यान दिनुपर्छ, पर्यटन नेपालको आर्थिक समृद्धिको मेरुदण्ड हो, हामीले अहिले नै यसबारेमा नीतिगत सुधारहरु गर्नुपर्छ।’

उनले अबपनि नेपालले ४ वा ५ लाख पर्यटक आउने आशामा बस्न नहुने जिकिर गरे । उनले थपे,‘अब ५ खाल भन्दापनि ५० लाखको लागि गुरुयोजना बनाउनुपर्छ, सम्पन्न राष्ट्र बनाउने हो भने ५० लाख पर्यटक ल्याउनुपर्छ, सोही अनुरुप सरकारले योजना तथा कार्यक्रमहरु बनाउनुपर्छ।’

कार्यक्रममा सँगै रहेका पर्यटनमन्त्री जितेन्द्र देवलाई देखाउँदै धमलाले जाँदाजाँदाँ केही सकारात्मक प्रभाव पार्ने खालको र छाप छोड्ने खालको आमुल परिवर्तन गरेर जानुहोस् भन्दै शुभकामना दिए । उनले भने,‘गाईडहरु भनेको पर्यटकहरुको लागि भगवान हुन् । गौतम बुद्ध, सगरमाथाजस्ता ठूला ठूला हिमालहरु नेपालमा छन्, त्यसैले हामीले अब पर्यटन विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट पहल र कदमी लिनुपर्छ।’

नेपाल सरकारबाट लाईसेन्सप्राप्त टुर गाईडहरुले भरिभराउ रहेको उक्त कार्यक्रममा धमलाले राखेको प्रस्तावको सर्बले खुलेर प्रशंसा गरेका थिए भने र स्वागत गर्न भ्याए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री देवले पत्रकार धमलाले उठाएका विषयहरु जायज र स्वागतयोग्य रहेकोले आफूले कार्यान्वयन गराउन पहल लिने विश्वास दिलाए ।

उनले एक हप्ताभित्रै सरोकारवाला संस्थाहरुसँग छलफल गरेर नयाँ मोड दिने बचन दिएका हुन । मन्त्री देवले थपे,‘ऋषिजीले जुन किसिमको छलफल गरौं भन्नुभयो, म उहाँको कुरालाई समर्थन गर्छु, यो अत्यन्तै सकारात्मक कुरा हो, यसलाई सबैले कार्यान्वयन गर्नतिर जोड दिनुपर्छ।’

कार्यक्रममा केदार तामाङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति समेत बनेको छ ।



प्रतिक्रिया दिनुहोस्