Logo

शाली नदीमा मेला रौनक (फोटोफिचर)



काठमाडौँ, १३ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको पूजा र व्रत हिन्दु महिलाहरुको विशेष पर्व हो ।

नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्छन् । साँखुको शालीनदी लगायतका स्थानमा व्रतालुहरुको घुइँचो छ । त्यहाँ माघ स्नानसहित माधवनारायणको मेला लागेको छ ।

पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ ।

बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महिनामा कुमार अगस्त्य ऋषिबीच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर-घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ । पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।

माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी स्वस्थानी भगवतीलाई अर्घ दिइन्छ । स्वस्थानी देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने धार्मिक विश्वास छ ।

दक्ष प्रजापतीकी छोरी सतिदेवीले महादेव पति पाउँ भनि स्वस्थानीको कठोर व्रत गरेको र सोही व्रतको फल प्राप्त भइ महादेव पति पाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

 

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्