Logo

निर्वाचनपूर्व गरिएका प्रतिबद्धता पूरा हुन्छन् : शाक्य



काठमाडौँ, १३ माघ (रासस) : नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वाम गठबन्धनको सरकार गठन भएपछि निर्वाचनपूर्व जनतालाई गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ ।

नेपाल कस्मेटिक व्यवसायी संघको दोस्रो साधारणसभाको उद्घाटनका क्रममा उहाँले मुलुकमा उत्पादनका क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्दै देश र जनतालाई समृद्धिको यात्रामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रीय सरकार गठन भएपछि चाँडो प्रादेशिक सरकार गठन हुने बताउँदै उहाँले अब प्रादेशिक सरकारले व्यवसायीलाई शान्ति सुरक्षा प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।

नवनिर्वाचित प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठले स्वदेशी जडीबुटीको प्रयोग गरी शृङ्गारका सामान निर्माण गर्न सकेमा ठूलो धनराशि विदेशिनबाट रोकिने बताउँदै त्यसले मुलुकको व्यापार घाटा न्यूनीकरणमा सहयोग गर्ने बताउनुभयो ।

व्यवसायी आनन्द श्रेष्ठले कालाबजारीका कारण त्यस क्षेत्रको व्यवसाय अप्ठेरोमा रहेको बताउँदै गुणस्तरीय उत्पादन आपूर्ति गर्नका लागि सरकारले बजारलाई अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले स्वदेशी उत्पादनलाई सहयोग गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै उत्पादक कम्पनी, डिलर तथा व्यवसायीबीच समन्वय गरी उपभोक्तालाई लाभान्वित गरिने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्