Logo

कांग्रेसका युवा नेताहरुबिच सम्बन्ध बिग्रिएको हल्ला निराधार : विश्वप्रकाश शर्मा



१४ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका युवा नेताहरुबिच सम्बन्ध बिग्रिएको भन्ने हल्ला निराधार भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले चन्द्र भण्डारीसँग बोलचाल बन्द भएको भन्ने कुराको खण्डन गरे ।

चन्द्र भण्डारीले नै तपाईसँग बोलचाल बन्द भएको छ भन्नुभयो नि भन्ने धमलाको प्रश्नमा शर्माले भने, “भण्डारीले के भने त्यो मेरो सरोकारको विषय होइन । तर चन्द्र भण्डारी नेपाली कांग्रेसको उदायमान नेता, मभन्दा सिनियर हुनुहुन्छ ।”

भण्डारीसँग बोलचाल छैन भन्ने कुराप्रति उनले आफू अचम्मित भएको बताए । भण्डारीसँग आफू प्रवक्तभएपछि पनि भेटवार्ता र टेलिफोन वार्ता भइरहेको उनको दाबी छ ।

कांग्रेसलाई बदल्नुपर्छ भन्ने मान्यताबाट आफू पछि नहटेको उनले स्पष्ट पारेका छन् । “राष्ट्रव्यापी रुपमा हामी बदलिन्छौँ, कांग्रेस बदलिन्छ भन्ने अठोट र अभियान पार्टीको साझा मनोविज्ञान बन्दै गएको छ ।” शर्माले भने । “कांग्रेसको प्रवक्ता भए पनि कांग्रेसको सारा नेतृत्व मैले गर्ने होइन । पार्टीका कुराहरुलाई सार्वजनिक गर्ने दायित्व हो । यसमा पाकाहरुको पनि साथ छ, चन्द्र भण्डारी र उहाँभन्दा पछिल्लो पुस्ताको पनि साथ छ ।”

सबैलाई समेटेर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको उनको भनाई छ ।

पार्टीमा युवालाई अवसर दिनुपर्छ पनि भन्ने युवा भनिएको नेतालाई प्रवक्ता बनाउँदा पनि पदको लोभमा फस्यो भन्ने भन्दै शर्माले आश्चर्य प्रकट गरे । “भोली कुनै युवा नेतालाई महामन्त्री बनाइयो भने बन्ने कि नबन्ने ? संसदीलय दलको नेता वा सभापतिमा युवापक्तिबाट प्रतिस्पर्धा गर्ने कि नगर्ने ?” शर्माले प्रश्न गरे ।

अहिलेको अवस्थामा एकले अर्कोलाई आलोचना गर्दा समाजमा नकारात्मक प्रभाव पर्ने शर्माको भनाई छ ।
अब बस्ने केन्द्रियसमितिको बैठकले महासमितिको बैठक बोलाएर विधान संशोधन गरेर अगाडि बढ्ने उनले बताएका छन् ।

“अब जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, जो बदलिदैनन् तिनीहरुले विदा लिन्छन् । केन्द्रदेखि टोलसम्म यही कुरा लागु हुन्छ ।” शर्माले भने ।



प्रतिक्रिया दिनुहोस्