Logo

चिनियाँ जापानी विदेशमन्त्री भेटवार्ता



बेइजिङ, १४ माघ : चीन र जापानका विदेशमन्त्रीबीच आइतबार बेइजिङमा भेटवार्ता भएको समाचार छ ।

उहाँहरुबीच चीन जापान द्विपक्षीय सम्बन्धका साथै आपसी हितको प्रवर्धन र पछिल्लो समयमा यी दुई देशबीच बढ्दो सीमा विवादका कारण उत्पन्न परिस्थितिको समाधानका विषयमा केन्द्रित भएको बताइएको छ ।

हाल जापानी विदेशमन्त्री तारो कोनो चीनको भ्रमणमा रहनुभएको छ । उहाँसँग चिनियाँ विदेशमन्त्री वाङ यिले आइतबार भेटवार्ता गर्नुभएको हो ।

त्यस अवसरमा हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीच बढ्दो तनाव र आणविक शस्त्रको होडका कारण उत्पन्न परिस्थितिका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

यी दुई कोरियाको बीचमा पछिल्लो समयमा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिक खेलका कारण सम्बन्धमा केही सुधार आएकोले यस समयमा उक्त सम्बन्धलाई थप सुदृढ गर्नका लागि आवश्यक कदम चाल्नुपर्नेमा चीन र जापानले के कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने बारेमा पनि कुराकानी भएको प्राप्त एक समाचारमा जनाइएको छ ।

उत्तर र दक्षिण कोरियाका साथै अन्य क्षेत्रीय मुद्दा र विश्व राजनीतिका बारेमा पनि उहाँहरुबीच छलफल भएको बताइएको छ ।

विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रका बीचमा भएको यो द्विपक्षीय भेटवार्तालाई महत्वका साथ हेरिएको छ । (रासस/एएफपी)

 



प्रतिक्रिया दिनुहोस्