नेकपा एमाले र नेकपा माओवादीबिचको पार्टी एकताका सुत्रधार मानिएका नारयणकाजी श्रेष्ठ एकता गर्नैपर्छ भनेर कम्मर कसेर लागि परेका छन् । तर अहिलेसम्म जनता आश्वस्त हुने गरी दुवै दलले एकता प्रक्रिया अघि बढाउन सकेको देखिएको छैन । यसै सन्दर्भमा माओवादी नेता श्रेष्ठसँग ऋषि धमलाले कुराकानी गरेका छन् । उक्त अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
एमाले र माओवादीचिको एकता किन आवश्यकता किन छ ?
देश र जनताको जितको स्थिती सृजना भएको छ । राजनीतिक संक्रमणकालको अन्त्य भएर देश आर्थिक क्रान्तिको चरणमा प्रवेश गर्नुपर्ने अवस्था छ । चुनावमा बामपन्थीहरुको करिब दुई तिहाई विजयी हासिल भएको छ । देशले स्थायी सरकार पाउने भएको छ । समाजवादउन्मुख समृद्धिको दिशातर्फ देश अगाडि बढिरहेको छ । यि सबै काम पूरा गर्नका लागि एकता आवश्यक छ ।
पदीय भागबण्डामा नै कुरा अड्किएजस्तो देखिन्छ । कसरी एकता होला ?
पदीय भागबण्डाको विषयमा दुई पार्टीबिचको नेतृत्वले नै छिनोफानो गर्छ । एकता संयोजनक समितिले पनि यस विषयमा छलफल भइरहेको छ ।
तपाई संयोजन समितिको सदस्य भएको नाताले भनिदिनुस् न, पदीय भागबण्डा कसरी मिलाउनुहुन्छ ?
सबै माहोल हेर्दा, जनमत हेर्दा कमरेड केपी ओली प्रधानमन्त्री हुनुभयो भने त्यो अनौठो हुँदैन । हामी त्यही दिशातिर गइरहेका छौँ । औपचारिक रुपमा टुङ्गो नलागे पनि ओलीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढि छ ।
अनि प्रचण्डचाँही पार्टी अध्यक्ष हो ?
त्यो बारेमा पनि हामी छलफल गरिरहेका छौँ । स्वभाविक रुपमा जसरी ओलीलाई वामपन्थी कार्यकर्ताले प्रधानमन्त्रीको रुपमा हेरिरहेका छन्, त्यसैगरी ओलीले प्रधानमन्त्री पद सम्हाल्दा प्रचण्डले एकीकृत पार्टीको नेतृत्व सम्हाल्नु हुनेछ भन्ने अनुमान गर्नु स्वभाविक नै हो ।
त्यसो भए ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हो ?
यस विषयमा छलफल भइरहेको छ । पार्टी एकता संयोजन समितिमा व्यवस्थित रुपमा छलफल भइरहेको छ । अध्यक्षद्धय प्रचण्ड र ओलीकोबिचमा पनि छलफल भइरहेको छ । हामी कुनै न कुनै सहमति गरेर समाधान खोज्छौँ ।
प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्यो भन्ने कुरा पनि छ नि ?
त्यो कांग्रेसको कुरा भयो । हाम्रो त कुरा त्यो होइन । त्यो सम्भव नै छैन । वामपन्थी सरकार नै बन्छ, त्यसमा कुनै विवाद छैन ।
अहिलेसम्म एकता गर्न सक्नुभएको छैन । किन ? तपाईहरु चुक्नुभएको हो ?
हामी चुकेका छैनौँ । छिटोभन्दा छिटो एकता होस् भनेर वामपन्थी जनमतको चाहाना छ । हामीले पनि त्यही चाहेका छौँ । तर ठूला दुईवटा वैचारिक राजनीतिक दलहरुबिच कतिपय मतभिन्नताहरु छन् । ठूला दलबिचको संरचना एकीकृत गर्नु सानो काम होइन । त्यसैले ढिलो भन्न मिल्दैन ।
कहिलेसम्ममा पार्टी एकता होला त ?
हाम्रो चाहना र लक्ष्य चाँही सरकार गठनभन्दा अघि नै एकीकृत पार्टीको घोषणा गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेका छौँ । तर प्रक्रिया पूरा भएपछि आउने समयमा सरकार गठन त गरिहाल्नुपर्छ । पार्टी एकता जस्तो कही ढिला गरौँ भनेर हुँदैन । पख्नुस्, हामी पार्टी एकताको काम सक्छौँ अनि सरकार बनाउँला भनेर त भएन । यस्तो स्थितीमा सरकार गठन पहिला र पार्टी एकता पछि हुन्छ । तर पार्टी एकता हुने भयो है भन्ने खालको एकताको प्रारुप चाँही पहिला नै तय गर्ने सम्भावना बढि छ ।
जबसम्म प्रचण्डलाई अध्यक्ष दिइदैन तबसम्म पार्टी एकता हुँदैन भन्ने अवस्था आएको हो ?
हाम्रो पार्टीले त्यस्तो शर्तबन्दीको धारणा अघि सारेको छैन ।
केही नेताहरुले भनिरहनुभएको छ त ?
यो विषयमा हाम्रो र अध्यक्ष प्रचण्डको पनि ध्यानाकर्षण भएको छ । प्रचण्डले नै सांगठनीक र प्राविधिक विषयमा साथीहरुले नबोल्नुस है भन्नुभएको छ । यो विषयमा त दुई पार्टीबिचमा सौहार्दपूर्वक छलफल गरेर अगाडि बढ्नुपर्छ । यस्तो हुनुपर्छ भनेर अडानका रुपमा प्रस्तुत हुनु हुँदैन ।
कम्युनिष्ट पार्टी एकता हुन निकै कठिन मानिन्छ । कतिपयले त एकता हुँदैन पनि भनिरहेका छन् नि ?
एकता नहुने कुरा त हामी सोच्दै सोच्दैनौँ । पार्टी एकता हुन्छ । वामपन्थी सरकार अनिवार्य छ । जनादेश जो आएको छ, त्योभन्दा बाहिर कोही पनि जान सक्दैन । पार्टी एकतालाई पनि जनताले अनुमोदन गरेका छन् । तर न्युनतम सहकार्यका लागि गृहकार्य भइरहेको छ ।
वैचारिक र सांगठनिक रुपमा मिल्नु मुख्य चुनौति देखिएको छ नि ?
वैचारिक राजनीतिक लाइनमा सहमति जुटाउनुपर्छ । हामीबिचको मतभिन्नता त सबैलाई थाहा छ नि । यत्रो वर्ष छुट्टाछुट्टै पार्टी चलाएको र सैद्धान्तिक विषयमा कतिपय मतभेद भएकाले प्रारम्भिक रुपमा अन्तरिम कालमा सहमति कसरी बनाउने, त्यसपछि बहस गर्दै एउटा संश्लेषण विकासको चरणमा कसरी पुग्ने भन्ने बारेमा त सहमति हुनुपर्छ नि । यसका लागि छलफल अगाडि बडेको छ । त्यस्तै गरेर एकीकृत पार्टीको संगठन निर्माण र नेतृत्वको विषय, संरचना र नीतिगत आधार के भन्ने विषयमा पनि छलफल अगाडि बडिरहेको छ । तर टुङ्गिएको छैन ।
दुवै दलमा धेरै नेताहरु छन् । पदीय भागबण्डामा हलो अड्कियो भने के हुन्छ ?
हामीले धेरै जिम्मेवारीपूर्वक सोचेर पार्टी एकताको कुरा गरेका हौँ । देशलाई के दिने भन्ने कोणबाट हामीले एकता गर्ने निर्णय गरेका हौँ । निश्चित रुपमा नेता कार्यकर्ता सबैको व्यवस्थापन हुनुपर्छ । एकताले सबै नेता कार्यकर्तालाई उत्साहित र उर्जाशील बनाउन सक्नुपर्छ । तर मूख्य कुरा देशको आवश्यकता वामपन्थी सरकार र त्यसलाई नेतृत्व गर्ने एकीकृत कम्युनिष्ट पार्टी । त्यसैले जतिसुकै जटिलता र चुनौति भए पनि हामी निष्कर्षमा पुग्छौँ ।
अहिलेसम्म त एकताको खाका नै देखिएन नि ?
छलफल गर्दैछौँ । हामीसँग केही खाका नै नभएको पनि होइन । तर दुईवटै पक्षमा घनीभूत छलफल गरेर छिटै निष्कर्षमा पुगिन्छ भन्ने आशा छ ।
बहुदलीय जनवादलाई आत्मसाथ गरेर माओवादी एकताका लागि तयार हुन सक्छ ?
यो विषयमा पनि छलफल गर्नुपर्छ । सार्वजनिक रुपमा म धेरै चर्चा त गर्दिन । यो विषयमा एकता संयोजनम समितिमा पनि छलफल हुन्छ । तर एमालेले माओवाद मानिदिन्छ त्यसैले एकता गरौँ भनेको होइनौँ । एमालेलाई पनि थाहा छ कि माओवादीले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्तको रुपमा मान्दैन । जबज मान्दिन्छ त्यसकारण पार्टी एकता हुन्छ भन्ने ठानेको होला त एमालेले ?
एमालेका शीर्ष नेताहरुले नै भन्दै आएका छन् नि जबजलाई मानेर मात्रै माओवादी केन्द्रसँग एकता हुन्छ । नत्र हुँदैन ।
पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बेलामा सार्वजनिक रुपमा यस कुराप्रति म प्रतिवाद गर्दिन । तर कुरा सबैले बुझ्नुपर्छ । माओवादी केन्द्रले अपनाएको माओवाद एमालेले मानिदिन्छ भन्ने साचेर हामी एकता प्रक्रियामा आएका होइनौँ । बहस, अध्ययन गर्दै संश्लेषणको विकास गर्दै हामी जान चाहन्छौँ । त्यसैगरी एमालेले पनि जबजको बारेमा पनि त्यही होला । एउटा सकारात्मक पक्ष छ । माओवाद एमालेले मान्दैन । तर विश्वका धेरै माक्र्सवादी, लेलिनवादी पार्टीभन्दा एमाले फरक छ । माक्र्सवादी, लेलिनवादी पार्टी के भन्छ भने माओवादको योगदानलाई निषेधलाई गर्नुपर्छ, माओलाई मान्न सकिदैन । तर एमालेले त्यसो भन्दैन । एमालेले पथप्रदर्शक सिद्धान्तका रुपमा माओवाद मान्दैन । तर माओ कम्युनिष्ट आन्दोलनको नेता हो र माओका कतिपय शिक्षालाई आत्मसाथ गर्नुपर्छ भन्छ । त्यस्तै हामीले पनि जबजको सिद्धान्तका बारेमा पनि हाम्रो मान्यता के हो भने यसलाई नेपाली क्रान्तिको मौलिक र पथप्रदर्शक सिद्धान्तका रुपमा मान्न सकिदैन । तर जबजका कतिपय पक्षहरुको बारेमा हाम्रा समान धारणा छन् । त्यसैले हामी एउटा सहमतिमा पुग्छौँ ।
सैद्धान्तिक रुपमा मध्यमार्गी धार के हुन सक्छ ?
अहिले पथप्रदर्शक सिद्धान्तको रुमपा माक्र्सवाद लेलिनवादलाई मानेर जान सकिन्छ । दुईटै दलले यसलाई साझा रुपमा मानेका छन् । अहिले माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा नराख्ने र जबजलाई पनि पथप्रदर्शक सिद्धान्तका रुपमा नराख्ने तर छलफलमा राख्ने । दुईवटै विषयमा बहस र छलफल गरेर जे निष्कर्ष निकाल्न सकिन्छ, त्यसलाई सबैले मान्ने । हामी समाजवादको रणनीतिक लक्ष्यमा सहमत छौँ । कार्यनीतिक रुपले शान्तिपूर्ण रुपमा नै सरकार बनाउने । यो मुल रानीतिक कार्यनीतिमा हामी सहमत छौँ । हामीले नौलो जनवादी क्रान्ति त हामीले छोडिसकेका छौँ । जानवादी क्रान्तिमा छैनौँ भनेर त एमाले र हाम्रो पार्टीले निष्कर्ष निकालिसक्यो नि । त्यसकारण नयाँ जनवादी क्रान्ति वा जनवादी क्रान्तिको कुरा त सिद्धियो ।
तपाईहरुले गरेको दश वर्षे जनयुद्धलाई एकतापछि कसरी व्याख्या गर्नुहुन्छ ?
जनयुद्धलाई त हामीले शान्ति प्रक्रियामा नै रुपान्तरण गर्यौँ नि । फेरी जनयुद्ध गर्ने कुरा त हामीले गरेका छैनौँ । जनयुद्धको मूल्याङ्कनका बारेमा हाम्रा केही मतभेद हेलान् । तर नेपालको लोकतान्त्रिक परिवर्तनको प्रक्रियालाई यहाँसम्म ल्याउन जनयुद्ध र जनआन्दोलन दुवैको योगदान छ भन्ने कुरामा दुवै पार्टीमा सहमति हुन्छ ।
नेतृत्वको कुरा गरौँ । पछिल्लो समय ओली प्रधानमन्त्री र अध्यक्ष बन्ने,प्रचण्ड सह अध्यक्ष बन्ने कुरा आएको छ । यो सम्भावना कत्तिको छ ?
पार्टी एकताका लागि समग्रमा छलफल भइरहेको छ । त्यसकारण अहिले यो वा त्यो भनेर सार्वजनिक गर्नु उचित हुँदैन । शीर्षस्थ नेतृत्वमा पनि राम्रोसँग छलफल भइरहेको छ । छलफल सकारात्मक छ । छलफलले नै समाधान हुन्छ ।
ओली र प्रचण्डबिचमा पनि केही दरार छ कि भन्ने आशंका उब्जिन थालेको छ नि ?
छलफलकै क्रममा छ । तर छलफलबाट सबै कुरा मिलिसकेको भए त एकता भइसक्थ्यो नि । तर मिल्नै नसक्ने अवस्थामा पुगेको छैन ।
आलोपालो अध्यक्ष प्रणालीमा जान सकिने सम्भावना कति छ ?
आलोपालोको कुरा नगरम न । सल्लाह गरेर एउटा निर्णयमा पुग्छौँ ।
नेपालमा पैसा दिएर पद लिने प्रवृत्ति छ । त्यसलाई रोक्न सक्नुहुन्छ ?
रोक्नुपर्छ । राजनीतिक शुद्धिकरणको अभियान चलाउनुपर्छ । आफ्नो पार्टी, व्यक्तिगत जिन्दगी वा चुनावका लागि खर्च जुटाउन कर्पोरेट हाउसकै भर पर्ने हो भने परिवर्तनको कुरा जनतालाई देखावट मात्रै हुन्छ ।
तर कम्युनिष्ट पार्टीका नेताहरु पनि विलासी जीवन बिताइरहेका छन् ?
हाम्रो पार्टी वा कम्युनिष्ट आन्दोलनमा पनि भ्रष्टीकरण बढेर गयो, वैचारिक, सैद्धान्तिक स्खलन बढेर गयो । त्यसकारण रुपान्तरणको आवश्यकता बढेर गयो । पुनर्गठन गर्नुपर्छ भनेर हामी कराएको यसैकारणले हो ।
वाम गठबन्धनको नेतृत्वमा सरकार बनेपछि लेनदेनमा नियुक्ति हुन्छ कि हुँदैन ?
हुँदै हुँदैन नि ।
तर विगतमा भएको थियो ?
भएर त अब सच्याउनुपर्यो । जे छ त्यही गर्नका लागि हामी किन चाहियो ? राजनीतिलाई धन्दा नै बनाउने हो भने हामी जस्तो मान्छे किन राजनीतिमा लाग्ने ? यस्तो प्रवृत्ति फेर्नका लागि त हामी राजनीतिमा छौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय गरेको निर्णयलाई कसरी लिनुहुन्छ ?
लाज लाग्छ । लोकतन्त्रको धेरै ठूलो उपहास भयो । हैन, नेपाली कांग्रेसमा अझै कोही लोकतन्त्रवादीहरु बाँचेका छैनन् ? राष्ट्रिय हित कसरी हुन्छ भनेर कोही सोच्न सक्दैनन् ? किन बोल्दैनन् । यति शर्मनाक र लज्जाजनक कुरा कसरी भइरहेको छ ? यस्तो अनैतिक र अलोकतान्त्रिक काम गर्नुहोला भनेर मैले सोचेको थिइन ।
देउवाले त पहिला चुनावका कारण केही काम गर्न पाइएन, त्यसैले अहिले गरेको भन्नुभएको छ नि ?
लाज नभएपछि त जे भनेपछि हुन्छ नि । कसरी मुख देखाउने होला ? वामपन्थी सरकारले कामचलाउन अवस्थामा यही काम गरेको भए सारा विश्वले विराधे गथ्र्यो । वुद्धिजीवी, नागरिक समाज सबैले घेराबन्दी गर्थे । ति कहाँ गएर बसेका छन् ?
अहिलेको सरकारले गरेका सबै निर्णय उल्ट्याउनुहुन्छ ?
जुन संवैधानिक छैन, जुन राष्ट्रिय हितमा छैनन्, त्यसले निरन्तरता पाउँदैन ।
अबको सरकारले परराष्ट्र नीति कस्तो बनाउनुपर्ला ?
संविधानले प्रष्ट गरेको स्वतन्त्र परराष्ट्र नीतिलाई कार्यान्वयन गछौँ । स्वतन्त्र परराष्ट्र नीति कार्यान्वयन हुन नसक्दा नेपाल अहिलेको अवस्थामा रहेको हो । राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ ।