Logo

काबुलस्थित सैनिक विश्वविद्यालयमा आक्रमण, पाँचको मृत्यु



काबुल, १५ माघ  :अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ ।

पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीले स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’ मा विस्फोटक पदार्थ हान्नुको साथै गोलाबारी सुरु गरेका थिए ।

त्यसपछि सैनिकले गरेको जवाफी कारबाहीमा तीन आतङ्ककारीसहित पाँचको मृत्यु भएको छ । यस आक्रमणमा परी १० सुरक्षा अधिकारी र तीन आतङ्ककारी घाइते भएका छन ।

मारिनेमा विद्यार्थी, शिक्षक वा को हुन् भन्ने बारेमा भने केही बताइएको छैन । बिहान विश्वविद्यालय खुलेपछि सो हमला भएको थियो ।

सोमबार विहान सवेरै स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे यस सैन्य विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको प्रत्यक्षदर्शीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

राजधानी काबुलमा पछिल्लो समयमा हरेक दिनजसो यस्ता हिंसात्मक हमलाहरु भएका छन् । तर यसअघि भएको एम्बुलेन्स बम हमला र आज विश्वविद्यालयमा नै हमला भएकोले यसबाट भने चिन्ता बढेको बताइएको छ ।
गत शनिबार पनि अफगानिस्तानको राजधानी काबुलमा भएको भीषण आतङ्ककारी हमला १०३ को मृत्यु हुनुको साथै २३५ घाइते भएका थिए ।

यसको दुई दिनपछि नै अर्को भीषण आक्रमण भएको छ । एम्बुलेन्समा बम राखेर गरिएको सो आक्रमणमा परी कम्तीमा पनि १०० जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

शनिबार अपरान्ह काबुलको मध्यभागमा अवस्थित सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा अत्यधिक भीड भएतर्फ लक्ष्यगरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स ठोकाइएको थियो ।

घाइतेमध्ये कैयौको अवस्था अत्यन्तै नाजुक भएको हुनाले अझै पनि शनिबारको आक्रमणमा मृतकको सङ्ख्या बढ्ने पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि पनि जनवरी २१ मा अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी ४० व्यक्तिको मृत्यु भएको थियो ।

एम्बुलेन्स र होटेल आक्रमण दुबैको तालिबान लडाकू समूहले जिम्मेवारी लिएको छ । करिब ५ लाख जनसङ्ख्या रहेको यस राजधानी सहर काबुलमा गत दुईवर्ष यता शृंखलाबद्ध रुपमा आतङ्ककारी आक्रमण हुदै आएको छ ।रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot