ऋषि धमला : नेपालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा गरी तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । निर्वाचन सम्पन्न भएसँगै देशमा संघीयता कार्यान्वयनको आधार तयार भयो । चुनावी परिणाम अनुसार एमाले–माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनले बहुमत ल्यायो । चुनावमा छिमेकी मित्रराष्ट्र भारतको सहयोग र सद्भाव थियो । उसले चुनावी परिणामको स्वागत गर्न कुनै कञ्जुस्याई गरेन । विगतका राजनीतिक परिवर्तनहरूमा समेत भारतको सहयोग र सद्भाव रहँदै आएको थियो । संघीय गणतन्त्रात्मक प्रणालीको मुख्य प्रस्थानबिन्दु १२ बुँदे समझदारीमा भारतले मध्यस्थताको भूमिका निभाएको छिपेको छैन । भारतको रचनात्मक भूमिकाले देशमा दशक लामो द्वन्द्व अन्त गर्न मुख्य राजनीतिक दलहरू सहमतिमा पुगेका थिए । त्यसपछिको राजनीतिक व्यवस्थापनमा समेत भारतको सद्भाव रहँदै आयो । बेला–बेलामा द्धिपक्षीय सम्बन्धमा केही चीसोपन आउने गरेपनि दुवै देशबीच सम्बन्ध सुधार भइहाल्ने विगतको अनुभव पछिल्लो समय समेत देखिएको छ । नेपालमा संविधान जारी गर्दाको बखत केही असमझदारी देखिएपनि सम्बन्ध सुदृढ भइसकेको पछिल्लो घट्नाक्रमले देखाईसकेको छ ।
नेपाली जनताको चाहना र भावना अनुसार हुने निर्णय र परिणामको स्वागत गर्ने नीति लिएको भारतले चुनावी परिणामलाई स्वागत गरिसकेको छ । नयाँ संविधानलाई भारतले स्वागत नगरेको गुनासाहरू आइरहँदा यही संविधानमा टेकेर भएको चुनावको खुलेर स्वागत गर्नुलाई अर्थपूर्ण मान्नुपर्छ । चुनावी परिणामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू क्रमशः शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डसँग टेलिफोन संवाद गरे । चुनाव सफलताका साथ सम्पन्न गरेकोमा बधाई दिनुका साथै आर्थिक विकासमा भारत नेपालसँग मिलेर अगाडि बढ्न चाहेको बताए । यसबाट मोदी नेपाल मामलामा निकै चासो राख्छन् र आर्थिक विकास मुख्य मुद्या बनाएर दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन चाहन्छन् भन्ने पुष्टि हुन्छ ।
मोदीको तीन नेताहरूसँगको संवादमध्ये ओलीसँगको संवाद महत्वपूर्ण बन्यो । भारतसँग ओलीको सम्बन्ध चीसो रहेको टिकाटिप्पणी भइरहँदा मोदीले टेलिफोन संवादमा ओलीलाई भारतमा स्वागत गर्न चाहेको बताए । कुनैपनि भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण नगरेको १७ वर्षपछि मोदीले प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गरेका थिए । तर, उनी प्रधानमन्त्री भएपछि चारजना नेपालका प्रधानमन्त्रीलाई दिल्लीमा स्वागत गरिसकेका छन् । नेपाली राजनीतिमा प्रधानमन्त्री परिवर्तन भइरहने र अस्थिरताको उदाहरण यही हो । अब भारतले नेपालमा राजनीतिक स्थिरता चाहेको देखिन्छ ।
नेपाली जनताले बाम गठबन्धनलाई बहुमत दिएका छन् । जनताको म्याण्डेट मान्ने हो भने बाम गठबन्धनले देशलाई पाँच वर्ष राजनीतिक स्थिरता दिनुपर्छ । मोदीले नेपाली नेताहरूसँगको कुराकानीमा नेपालमा राजनीतिक स्थिरताको आशा समेत व्यक्त गरेका छन् । सम्भवतः ओली प्रधानमन्त्री हुनेछन् । त्यतिबेला ओली—मोदी सम्बन्ध कस्तो हुने ? यो विषयले दुवै देशको सम्बन्ध र नेपालको विकासमा प्रभाव पार्न सक्छ ।
ओली र मोदी दुवै आफ्ना कुरा प्रष्ट राख्छन् । दुवैमा कुटनीतिक चार्तुयता पनि छ । भारतीय जनता पार्टीको सामान्य कार्यकर्ता हुँदा नै पटक–पटक नेपाल भ्रमण गरेका मोदीले नेपाललाई नजिकबाट बुझेका छन् । त्यसमाथि उनको धर्मपुत्र नै नेपाली हुनुले नेपाली मन र इमान्दारिताबारे जानकार छन् । नेपाल भ्रमणमा आउँदा मोदीले नेपालीप्रतिको प्रेम र सद्भाव देखाए । मोदी नेपाली जनमनमा बस्न सके । मोदी मोदी नारा लाग्यो । सार्क सम्मेलनका बखत पुनः भ्रमण गरेका मोदीको क्रेज घटेन । तर, नयाँ संविधान जारी भएपछि भारतले असन्तुष्टि जनाउनु र सीमामा अवरोधको अवस्था सिर्जित हुनुले नेपाली जनताको मन कुडिँयो । ओलीले यही घट्नामा आफूलाई खरो रुपमा प्रस्तुत गरे । देशमा राष्ट्रवादको विषय जोडतोडले उठ्न थाल्यो । तर, ओलीले आफू कहिले पनि भारतको विरोधी नभएको प्रष्ट पारे । आफूले दुई देशबीचको सम्बन्ध सुधारका पक्षमा सही विषय बोलेको दोहो¥याइरहे ।
प्रधानमन्त्रीको कुर्सी नजिक पुगेका ओलीले भारतसँगको सम्बन्ध सुधारमा आफ्नो राजनीतिक जीवन नै दाउमा राखेको इतिहास छ । महाकाली सन्धी हुँदा ओली एमालेभित्र त्यसको पक्षमा सशक्त रुपमा उभिने नेता थिए । सन्धीको विषयमा एमाले फुट्यो । ओलीलाई भारतपरस्तको आरोप समेत लाग्यो । पछिल्लो समय उनले लिएको नीतिले भारतविरोधी देखाउन खोजियो । वास्तवमा ओली देशको हितमा अडान लिन सक्ने नेता हुन् । छिमेकसँगको सम्बन्धमा देशहितलाई प्राथमिकतामा राखेर छिमेकको चाहना र भावनलाई समेत बुझ्नुपर्ने कुटनीति अबलम्बन गर्दै आएका छन् । ओली र मोदीबीच यही विषयमा समानता देखिन्छ । राष्ट्रवादी छवि बनाएका मोदीले छिमेक नीतिलाई प्राथमिकतामा राखेर आवश्यक पर्दा कठोर निर्णय लिने गरेका छन् ।
भारतको प्रधानमन्त्रीका रूपमा मोदी अकस्मात् पाकिस्तान पुगेर त्यहाँका तत्कालिन राष्ट्रपति नवाज सरिफको लाहोरस्थित घरमा गई परिवारलाई समेत भेटेर फर्किएका थिए । मोदीको यो कदम पाकिस्तानसँग सम्बन्ध सुधारको प्रयास थियो । अडान लिन सक्ने र बाहिरबाट कठोर स्वभाव देखिएपनि मोदी बेला बेलामा लचिलो देखिने गरेका छन् । यही स्वभाव ओलीमा समेत छ । ओलीको लचिलो स्वभावका कारण उनले कुनैबेला सबैभन्दा बढी आलोचना गर्ने गरेको प्रचण्डसँग हातेमालो गरे । वाम एकताका लागि हात बढाए । कुटनीतिक क्षेत्रमा समेत ओलीको स्वभाव यस्तै छ । उनको भारतसँगको सम्बन्धमा विगतमा जतिसुकै चीसोपन देखिएपनि अबका दिनमा सम्बन्ध सुदृढ हुने माहोल बन्दै गएको छ । मोदीले ओलीसँगको कुराकानीमा ओलीलाई दिल्लीमा स्वागत गर्न आतुर रहेको बताएबाट यसको पुष्टि हुन्छ ।
ओली र मोदी दुवै बलियो नेताका रुपमा स्थापित छन् । दुवै राष्ट्रिय हितमा केन्द्रित हुने स्वभावका छन् । दुवै बीचको केमेष्ट्रि मिल्नुले दुई नेताहरूबीचको सही समन्वयले दुवै देशको हित हुनसक्छ ।
ओलीको नेतृत्वमा नेपालले समृद्धी हासिल गर्ने आधारहरू तयार हुनसक्छ । भारतले नेपाललाई विकासको मुद्यामा केन्द्रित हुन बारम्बार आग्रह गरिरहँदा ओलीले भारतीय पक्षसँग आर्थिक मुद्यामा प्रष्ट कुरा राख्न सक्छन् । दुवै नेताबीच मन माझेर कुरा हुनुपर्छ । एक अर्काको हितका लागि काम गर्ने प्रष्ट आधार तयार गर्नुपर्छ । नेपालबाट भारतले लाभ लिने प्रशस्त ठाउँ छन् । भारतको द्रूत विकासबाट नेपालले पनि लाभ लिन सक्नुपर्छ । भारतसँग तीनतर्फ भू—भाग जोडिनु र चीनतर्फ अग्ला हिमालहरू भएर भूपरिबेष्ठित हुनु नेपालको अभिशाप होइन बरदान हो भन्ने अवस्था सृजना गर्न सक्नुपर्छ । त्यसका लागि भारतमा मित्रवत् सम्बन्ध राख्ने र चीनसँग पनि सम्बन्ध सुदृढ बनाएर जानुपर्छ ।
अन्तर्राष्ट्रिय समुदायसँग मिलेर जानुपर्ने देखिन्छ । ओलीले भू—राजनीतिक यथार्थलाई बुझेर कुटनीतिक चार्तुयता देखाउने बेला आएको छ । भारतसँगको सांस्कृतिक, धार्मिक र राजनीतिक समानताका अलावा भौगोलिक निकटतालाई केलाउँदा भारतसँग विशेष सम्बन्ध अनिवार्य छ । यही सम्बन्धको आधारमा विकासको एजेण्डा मुख्य हुनुपर्छ । आर्थिक क्रान्तिको जग बलियो बनाउनुपर्छ । दक्षिण र उत्तरको आर्थिक फड्कोबाट सिक्नुपर्छ । देशमा पाँच वर्ष स्थायी सरकार बनेर विकासको माहोल बनाउनुपर्ने आवश्यकता छ । ओली बलियो नेताका रूपमा देशलाई बलियो नेतृत्व दिन सक्छन् । त्यसका लागि उनको कुटनीतिक क्षमता र त्यसमा पनि छिमेकप्रतिको दृष्टिकोणले फरक पार्छ । ओलीले मोदीसँग मिलेको केमेष्ट्रिलाई देश हितमा सदुपयोग गर्न सक्नुपर्छ ।
ओलीका लागि सबै माहोल सकारात्मक बनेको छ । भारतीय राजदूतमा मञ्जिभ सिंह पुरी आएपछि ओलीसँगको सम्बन्ध सुधारमा स्वयं भारतीय पक्षले पहल गरेको देखिन्छ । कुटनीतिक रूपमा सफल पुरीले बारम्बार ओलीलाई भेटेका थिए । समन्वयकारी र मिलनसार राजदूत पुरी कुरा कम काम बढी गरिरहेछन् । ओलीको भारतसँगको सम्बन्ध सुधारमा उनको भूमिका मुख्य बन्यो । पुरीले नेपालको विकासमा जोड दिएर काम गरिरहेका छन् । भारतले नेपालको समृद्धी र स्थायित्व चाहेको सन्देश पुरीमार्फत् प्रवाह भएको छ ।
आन्तरिक राजनीतिमा कुनै दखलअन्दाजी नदिने भारतीय नीति पुरीमार्फत् देखिदै आएको छ । आन्तरिक व्यवस्थापन गर्दै ओलीले बाहिरी सम्बन्धबाट लाभ लिने वातावरण निर्माण गर्न सक्छन् । अब गाली गरेर होइन मिलेर जानुपर्ने समय आएको छ । विकासका लागि छिमेकी भारतसँग हातेमालो गर्दै अगाडि बढ्ने बेला आएको छ । यसका लागि ओलीले प्रचण्ड र देउवाको समेत साथ लिनुपर्छ । प्रचण्डमा दुरदर्शी क्षमता देखिन्छ । निर्णय लिन नडराउने देउवासँग लामो राजनीतिक अनुभव छ । देउवाले प्रतिपक्षीका रूपमा रचनात्मक भूमिका निभाउन सक्छन् । ओलीले दुवै नेताको सहयोग लिएर भारतसँगको सम्बन्धलाई सुदृढ बनाउन सके देशमा राजनीतिक स्थायित्व र समृद्धी टाढा छैन । उदयीमान भारतसँगको सुमधुर सम्बन्धको बलमा ओलीले आफूलाई नेपालको समृद्धीको सारथी बनाउन सक्छन् ।