Logo

राष्ट्रियसभामा प्रदेश–१ बाट ६ जना निर्विरोध निर्वाचित



विराटनगर, माघ १५ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–१ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दुई पदका लागि निर्वाचन हुने भएको छ ।

प्रदेश नम्बर–१ को निर्वाचन अधिकृतको कार्यालयले सोमबार जारी गरेको सूचनाका आधारमा खुलातर्फ नेकपा एमालेका परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली कांग्रेसका रमेशजंग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, महिलातर्फ एमालेका नैनकला ओझा (मोरङ), नेकपा माओवादी केन्द्रका बीना पोखरेल (मोरङ) र कांग्रेसका सरिता प्रसाइँ (झापा) निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यही माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदमा प्रदेश नम्बर–१ मा दलित र अल्पसंख्यक गरी दुई पदका लागि चारजना चुनावी मैदानमा छन् ।

दलिततर्फ एक पदका लागि एमालेबाट खेमराज नेपाली र कांग्रेसबाट विनकुमार विश्वकर्मा चुनावी मैदानमा छन् ।

त्यस्तै, अल्पसंख्यक/अपांगतातर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र कांग्रेसबाट महेशकुमार जाजु चुनावी मैदानमा छन् ।

यसअघि, अल्पसंख्यक/अपांगतातर्फ राप्रपाका अनुपमादेवी साह र अन्य समूहबाट एमालेका खड्गप्रसाद बस्नेतले आ–आफ्ना उम्मेदवारी फिर्ता लिएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot