Logo

सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल



१६ माघ, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमाले र माओवादी पार्टी एकता प्रक्रियामै केन्द्रित भएको भन्दै भागबण्डामा रुमल्लिएको भन्ने भनाईको खण्डन गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले एकता प्रक्रिया अगाडि बढ्दै गएको बताए ।

सरकार निर्माण प्रक्रियाका कारण एकता प्रक्रिया नरोकिने उनको भनाई छ । ‘पार्टी एकता र सरकार निर्माणको प्रक्रिया सँगसँगै अगाडि लैजान्छौँ ।’ रावलले भने । ‘एकताको मुख्य स्वार्थ भनेको राष्ट्रिय हित हो । नेपाली जनता र देशको प्रगति हो । विचार र संगठनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय एकसाथ अगाडि बढाउँछौँ ।’

नीति र नेतृत्वमा सहमति गरेरै पार्टी एकता गरिने रावलको दाबी छ । अहिलेको अवस्थामा सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था नरहेको उनको भनाई छ । ‘अलिकति समय त लाग्छ । सरकार निर्माणको प्रक्रिया अगाडि आइहाल्यो भने हामी पर्खिन सक्दैनौँ । सँगसँगै पार्टी एकताका कामहरुपनि भइरहेको छ ।’ रावलले भने ।

रावलले आजै एमाले स्थायी समिति बैठक बस्ने जानकारी दिएका छन् । पार्टी एकता, प्रदेशमा मुख्यमन्त्री, सभामुख, मन्त्री चयनबारे छलफल गर्नका लागि बैठक बस्न लागिएको रावलले बताए ।

पार्टी एकताको विषयमा पनि बैठकमा छलफल हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्