Logo

स्थानीय तहका विवाद टुङ्गो लगाउँदै न्यायिक समिति



बनेपा, १६ माघ (रासस) : काभ्रेपलाञ्चोक जिल्लाको स्थानीय तहका न्यायिक समितिले आएका विवाद टुङ्गो लगाउन थालेका छन् ।

जिल्लाका केही नगरपालिकामा औपचारिक रुपमा न्यायिक समिति नबने पनि विवाद निरुपणको काम भएको र गाउँपालिकामा आएका विवाद पनि टुङ्गो लगाउन थालिएको छ ।

पाँचखाल नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक लक्ष्मी दनुवारले साँध, सिमाना, बहुविवाह, अंशबण्डा, सम्बन्ध विच्छेदलगायतका १५ वटा विवाद दर्ता भएकामा तीमध्ये १० वटा विवादको टुङ्गो लागिसकेको जानकारी दिनुभयो ।

उहाँले विवाद निरुपण दुईपक्षीय सहमतिका आधारमा भएको उल्लेख गर्दै नगरपालिकाबाट निरुपण हुन नसकेका विवाद जिल्ला अदालत पठाइएको बताउनुभयो ।

हामीले दुई पक्षलाई राखेर सहमति गराउनमै जोड दिँदै आएका छाँै, सहमति नभए पीडित अदालत जान्छन्, उहाँले भन्नुभयो ।

स्थानीय तहमा नगरपालिकाका उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति हुन्छ ।
धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले नगरपालिकामा न्यायिक समिति निर्माणको काम अझै बाँकी रहे पनि झै झगडा, साँध, सिमाना, सम्बन्ध विच्छेद र जग्गा विवादका विवाद टुङ्गो लगाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “न्यायिक काम गरिरहेका छाँै तर न्यायिक समिति निर्माण भने भएको छैन ।” उपप्रमुख शर्माले नगरसभाबाट न्यायिक समिति निर्माणको काममा ढिलाइ भएपनि विवाद निरुपणको काम रोकिएको छैन भन्नुभयो ।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक कल्पना श्रेष्ठले सम्बन्ध विच्छेद, घरेलु हिंसा, साँध–सिमाना, अंशबण्डालगायतका विवाद तथा आएका र तीमध्ये अधिकांश विवाद टुङ्गो लगाइएको जानकारी दिनुभयोे । उहाँले भन्नुभयो, “स्थानीय तहबाट टुङ्गो लगाउन नसकेका विवाद अदालतमा जान सुझाव दिएका छौँ ।”

संविधानको धारा २१७ मा नगरपालिकाका उपप्रमुख र गाउँपालिकाको उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने प्रावधान छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिकासहित १३ स्थानीय तह छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot