Logo

प्रधानमन्त्री देउवाद्वारा शहीदमा श्रद्धाञ्जलि



काठमाडौँ, १६ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

बिहान ८ बजे शान्तिबाटिका रत्नपार्कबाट शुरु भएको प्रभातफेरि प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।

कार्यक्रममा रक्षामन्त्री, कामपाका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायतको सहभागिता थियो । सभाका एक सहभागी रेश्मा शाक्यले जुन कारणले शहीदले आफ्नो शरीरलाई बलिदान गरे त्यस किसिमको भावना बुझ्न नसकेसम्म उनीहरुप्रतिको सच्चा सम्मान नहुने बताउनुभयो ।

शहीद सप्ताहअन्तर्गत माघ १० गते टेकु खरीबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको थियो । त्यस्तै माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा तथा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो ।

विसं १९९७ मा शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, माथेमालाई सिफलमा तथा माघ १३ गते र श्रेष्ठ एवं चन्दलाई माघ १५ गते शोभाभगवतीमा नागरिक आवाज उठाएवापत राणाशासकले मृत्युदण्ड दिएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot