Logo

सामाजिक सद्भाव कायम गर्न शहीद दिवसले प्रेरणा दिने विश्वास



काठमाडौँ, १६ माघ : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष डा लोहनीले आज विज्ञप्ति जारी गरी देशमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल आमाका सपूत शहीदले देखाएको त्यागको आदर्श र निष्ठालाई नयाँ पुस्ताले सदैव सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

देशमा राजनीतिक स्थायित्व, सामाजिक न्याय, समानता र जनतालाई समृद्ध बनाउने शहीदको चाहनालाई साकार पार्न आफ्नो पार्टी दृढतापूर्वक अगाडि बढ्ने जनाउँदै उहाँले जनताको आर्थिक प्रगति र मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानका साथै विभिन्न जाति समुदायबीच सामाजिक सद्भाव कायम गर्न शहीद दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot