Logo

देउवा र पौडेललाई सम्मान गर्दै कांग्रेसको नेतृत्व शशांक वा गगनको पुस्ताले गर्नुपर्छ : रिजाल



१७ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारको नेतृत्व गर्ने गरी चुनावमा गए पनि मज्जाले पराजित भएको भन्दै अब प्रतिपक्षमा बस्नुको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले कांग्रेसलाई प्रतिपक्षको भूमिका प्राप्त भएको भन्दै अब शसक्त प्रतिपक्षमा रहेर जिम्मेवारी पूरा गर्ने बताए ।

अबको पाँच वर्षमा कांग्रेसलाई जनताको प्रिय पार्टी बनाउने अभियानमा आफूहरु लाग्ने रिजालको भनाई छ ।
“कसरी बहुमतका पार्टी बनाउने भन्नेतिर लाग्नुपर्ने बेला छ । यो एकदिनको प्रयत्नले हुँदैन । पाँचै वर्षभरी मिहिनेत गर्नुपर्छ ।” रिजालले भने ।

चुनावमा पराजित भएपछि सभापति शेरबहादुर देउवाको आलोचना भइरहेका बेला रिजालले देउवा र रामचन्द्र पौडेलको पुस्ताले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका विर्सन नहुने बताए । तर अबका दिनमा भने उहाँहरुको उमेर पनि ढल्किएकाले जिम्मेवारी नयाँ पुस्ताको काँधमा जानुपर्ने उनले बताए ।

“अब नेता पुरुषका रुपमा देउवा र पौडेललाई सम्मान गर्ने हो । अब आउने महाधिवेशनले नयाँ पुस्तामा नेतृत्व जान्छ । त्यो पुस्ता उहाँहरुको भाइ पुस्ता हुन पनि सक्छ, छोरा पुस्ता पनि हुन सक्छ ।” रिजालले भने ।

रिजालले भाइ पुस्ता भन्नाले महामन्त्री शशांक कोइरालाको पुस्ता र छोरा पुस्ता भन्नाले गगन थापाको उमेरका नेताहरु भएको उल्लेख गरे । जुन पुस्तामा नेतृत्व लाने भए पनि त्यसका लागि वातारण निर्माण गर्नुपर्ने उनको भनाई छ ।

विशेष महाधिवेशन वा अर्ली महाधिवेशनका बारेमा पार्टीभित्रको छलफलले निष्कर्ष निकाल्ने भन्दै रिजालले अहिलेको नेतृत्वलाई गलहत्याएर निकाल्ने पक्षमा आफु नरहेको स्पष्ट पारे ।

“नेताहरुलाई अपमान गरेर पार्टी अगाडि बढ्न सक्दैन । हामीले उहाँहरुलाई हृदयदेखि सम्मान गर्नुपर्छ ।” रिजालले भने ।



प्रतिक्रिया दिनुहोस्