Logo

शिक्षण अस्पतालमा बन्यो फोहर प्रशोधन तथा भण्डारण केन्द्र



काठमाडौँ, १७ माघ : अस्पतालजन्य फोहर व्यवस्थापन गर्न त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालले स्वास्थ्य संस्थाजन्य फोहर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना गरेको छ ।

आज अस्पतालमा आयोजित एक कार्यक्रममा त्रिविका उपकुलपति प्राडा तीर्थ खानियाँले अस्पतालजन्य फोहरको वैज्ञानिक रुपमा व्यवस्थापन गर्न बनेको स्वास्थ्य संस्थाजन्य फोहर प्रशोधन तथा भण्डारण केन्द्रको उद्घाटन गर्नुभयो ।

अस्पतालका निर्देशक कार्यकारी डा दीपक महराले अस्पतालबाट निस्कने फोहरलाई वैज्ञानिक रुपमा व्यवस्थापन, भण्डारण र प्रशोधन गर्न केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न उपचार सेवालाई विस्तार गर्दै लैजाने क्रममा धेरै फोहर निस्कन्छ । त्यसलाई न्यून गर्न फोहर व्यवस्थापन केन्द्रको आवश्यकता भयो । यसो नगर्दा उपचारका लागि आएका बिरामी अस्पतालकै फोहरको संक्रमणबाट थप बिरामी हुनुपर्ने अवस्था आउँछ ।”

अस्पतालले हेल्थ केयर फाउण्डेशन नेपालको सहयोगमा फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको हो । दुई वर्षभित्र अस्पतालबाट निस्कने सबै फोहर व्यवस्थापन गर्न भौतिक संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान अस्पतालको छ ।

फोहरलाई वर्गीकरण गर्ने, जम्मा गर्ने, निर्मलीकरण गर्ने, त्यसको उचित व्यवस्थापन गर्ने काम विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसार गरिने अस्पतालले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्