Logo

आर्थिक अनुशासनमा राष्ट्रसेवक नै जिम्मेवार हुनुपर्छ : प्रमुख आयुक्त बस्न्यात



हेटौँडा, १७ माघ (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले मुलुकमा सु–शासन ल्याउन र आर्थिक अनुशासनलाई कडारुपमा कार्यान्वयन गर्न राष्ट्रसेवक नै जिम्मेवारीका साथ कार्यक्षेत्रमा क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

प्रमुख आयुक्त बस्न्यातले हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकी टोलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहँुदै सरकारीस्तरबाट निर्माण हुने विकासका पूर्वाधारलाई गुणस्तरीय र आर्थिक पारदर्शीका साथ अघि बढाउन राष्ट्रसेवक कर्मचारीले नै स्वार्थरहित भएर अनुगमन गर्दा भ्रष्टाचार उन्मूलन हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले आयोगले भ्रष्टाचार उन्मूलन गर्ने विधि र प्रक्रियालाई वैज्ञानिकीकरण गर्दै नयाँ उपकरणका साथै चिन्तनमननका साथ नयाँ कार्यक्रम तर्जुमा गरी नीतिगत कार्यक्रम अघि बढाउन लागेको जानकारी दिनुभयो ।

सो अवसरमा आयोगका सचिव राजन खनालले विभिन्न दलको नेतृत्वकाबीच समन्वय तथा समझदारी हुनसके विकासको पूर्वाधारले जनताले दिगो लाभ लिनसक्ने उल्लेख गर्दै आयोजना निर्माण गर्ने क्रममा उपभोक्ता समिति र निर्माण व्यवसायीबीच अनियमित हुने कामलाई आयोगले अब नियमित निगरानीका साथ अनुगमन गर्ने बताउनुभयो ।

सो अवसरमा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे र अख्तियार अनुसन्धान आयोग क्षेत्रीय प्रमुख श्यामरा अधिकारीले विभिन्न सरकारी निकायका संवैधानिक दायराअनुसार सहकार्य हुनुपर्ने उल्लेख गर्दै सरकारी कार्यालयले जनहितका निम्ति कार्य गर्दा अनियमित हुने क्रियाकलापलाई निरुत्साहित गर्दै समाजमा जनताको आस्था वृद्धि गर्न आयोगको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो ।

आयोगको ३५ कोठा रहेको दुई वटा नवनिर्मित सो भवन सरकारको अनुदानमा रु नौ करोड ४९ लाखको लागतमा निर्माण कार्य सम्पन्न गरीएको आयोगको क्षेत्रीय कार्यालय हेटौँडाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot