Logo

जनकपुरधाममा प्रदेशसभाको तयारी, सचिवालय हेर्ने कर्मचारी खोजिँदै



हिमांशु चौधरी : जनकपुरधाम, १७ माघ : प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तीव्र रूपमा भइरहेको छ ।

शैक्षिक तालीम केन्द्र जनकपुरधामको सभाकक्षमा बैठक बसाल्न मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ ।

केन्द्रको परिसरलाई व्यवस्थापिकाका लागि निर्धारण गरिएकाले सोहीअनुरूपको बैठक कक्ष, सभामुख कक्ष, उपसभामुख कक्ष, संसदीय समिति कक्ष, संसदीय दल बैठक कक्षसहितको व्यवस्थापन कार्य सो परिसरमा भइरहेको छ ।

शहरी तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बैठकका क्रममा सभामा प्रयोग हुने कुर्सी, पोडियम निर्माण र सभाकक्षको रङरोगनको कार्य युद्धस्तरमा भइरहेका छ र माघ १९ गतेभित्र बैठक कक्ष पूर्णतः तयार हुनेछ ।

प्रदेशसभाको भौतिक निर्माणका लागि रु ५५ करोड माग गरिएकामा रु सात करोड रकम सरकारबाट प्राप्त भएको बताइएको छ । कार्यपालिकाका लागि जनकपुर चुरोट कारखाना परिसरका भवनको मर्मतसम्भारको कार्य भइरहेको छ ।

यसैबीच, प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले यही माघ २१ गते हुने प्रदेशसभाको प्रथम अधिवेशन विधि र प्रक्रियाअनुरुप सञ्चालन गर्न गृहकार्य भइरहेको बताउनुभयो ।

रासससँग आज जनकपुरधाममा कुराकानी गर्दै उहाँले प्रदेशसभाको काम कारबाही व्यवस्थित रुपमा सञ्चालन गर्न सङ्घीय संसद् सचिवालयबाट विज्ञसहितको टोलीसमेत जनकपुरधाम आइसकेकाले बैठक सञ्चालनमा समस्या नआउने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञहरूले अधिवेशन सञ्चालन, मर्यादापालकको व्यवस्थापन, प्रदेशसभा सदस्यको आगमन, समितिका बैठक सञ्चालन सम्बन्धमा प्रशिक्षण र सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

बैठक सञ्चालनबारे प्रशिक्षण दिन संघीय संसद् सचिवालयबाट यहाँ आएका विज्ञहरूको टोली भने प्रदेशसभा सचिवालय हेर्ने कर्मचारीहरूको व्यवस्थापन नगरिएका कारण अन्यौलमा परेको छ ।

बैठक सञ्चालनमा सहयोग तथा आवश्यक प्रशिक्षण दिन सहसचिव वंशीधर पौडेलको नेतृत्वको चार सदस्यीय टोली यहाँ आएको हो ।

विज्ञहरूले कसलाई प्रशिक्षण दिई प्रदेशसभा सञ्चालनको विधि र प्रक्रिया अगाडि बढाउने हो भन्ने सबैतिर चासोको विषय बनेको छ ।

प्रदेश प्रमुख सचिवालयका उपसचिव हुमप्रसाद घिमिरेले प्रदेशसभा सचिवालयका कर्मचारीको व्यवस्थापन नभएका कारण स्थानीयस्तरमा उपलव्ध कर्मचारीलाई नै प्रशिक्षण दिई प्रदेशसभा सञ्चालन गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

यही माघ २० गते प्रदेशसभा सञ्चालनको पूर्वाभ्यास गर्ने सोचसमेत राखिएको उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot