Logo

राजनीति मावन सेवाप्रति समर्पित हुन सकेन : अर्थमन्त्री कार्की



इटहरी, १७ माघ रासस : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति मावन सेवाप्रति समर्पित हुन नसकेको अवस्थामा राजनीतिलाई आम नागरिकले विश्वास गर्न छोड्ने खतरा बढिरहेको बताउनुभएको छ ।
इटहरी जेसिसको ३० औँ तथा जुनियर जेसिसको १२ आँै पदस्थापना कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री कार्कीले राजनीतिलाई सेवाभावले हेर्न नसकेसम्म शासन प्रणाली जनताप्रति उत्तरदायी बन्न नसक्नेतर्फ आफूले जेसिसबाट धेरै ज्ञान प्राप्त गरेकाले जेसिसको नारालाई सिरोधार्य गर्दै आएको बताउनुभयो ।

जेसिसले अपनाएको विधिको शासन र नागरिकप्रतिको सेवाभावबाट नेपालको राजनीतिक दलहरूले शिक्षा लिन नसकेकै कारण देशका सम्पूर्ण राजनीतिप्रति वितृष्णा बढ्न थालेको उहाँले उल्लेख गर्नुभयो ।

हरेक वर्ष एक व्यक्ति एक पदको जेसिज अवधारणाको व्यावहारिक प्रयोगले जेसिसको गरिमा उच्च हुनुको मूल कारण भएको स्पष्ट पार्दै अर्थमन्त्री कार्कीले त्यो विषयलाई राजनीतिक दलहरूले आत्मसाथ गर्नसके समग्र देशको विकासमा सवैको साझेदारी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इटहरी जेसिस अध्यक्ष गोकुल थापा, सांसद सिताराम मेहता, प्रदेशसभा सदस्य लिलम बस्नेत, जुनियर जेसिस अध्यक्ष बादल दाहाललगायतले बोल्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्