Logo

एमालेभित्र मुख्यमन्त्रीको विवाद चुलियो, गुट/गुटमै अस्वस्थ प्रतिष्पर्धा



काठमाडौं, १७ माघ । नेकपा एमालेभित्र अहिले मुख्यमन्त्री कसलाई बनाउने भनेर गुट तथा उपगुटको बेग्लाबेग्लै भेलाहरु भैरहेका छन् । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार नेपाल समुहवीच नै तिव्र प्रतिष्पर्धा भैरहेको छ ।

सतहमा ओली र नेपाल समूहवीच विवाद रहेको भनिएपनि भित्री रुपमा एउटै गुटभित्रपनि आकांक्षीहरु धेरै रहेकोले आफ्नै समूहमा अस्वस्थ प्रतिष्पर्धा भैरहेको एमाले शीर्ष नेताहरुले नै बताउने गरेका छन् ।

स्रोतका अनुसार प्रदेश नम्बर १ मा ओली खेमाका नेता एवम् पूर्वमन्त्री शेरधन राई र खनाल/नेपाल समूहका नेता एवम् सचिव समेत रहेका पूर्वमन्त्री भीम आचार्यवीच तिव्र प्रतिष्पर्धा हुने भएको छ । ओलीले राईलाई आफ्नो उम्मेद्धवारको रुपमा अघि सारेपनि अर्का प्रतिष्पर्धी आचार्य त्यतिकै यो दौडबाट बाहिरिने पक्षमा छैनन् ।

उनी त बरु संसदीय दलको नेतामा निर्वाचन लड्नेगरि आफूलाई तयारीमा होमिरहेका छन् । प्रदेश नम्बर १ को अहिलेको सिन हेर्दा एमालेले सहमतिमा मुख्यमन्त्री चयन गर्न नसक्ने निश्चित भएको छ । यही तरिका रहे, आचार्य र राईवीच चुनावी प्रतिष्पर्धा नै हुने भएको छ । संसदीय दलको नेतामा चयन हुनेले बाजी मार्ने स्रोतको दाबी छ ।

यता प्रदेश नम्बर ३ मा भने रोचक प्रतिष्पर्धा छ । नेता नेपाल समूहकै नेताहरुवीच कडा प्रतिष्पर्धा हुने भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा नै मुख्यमन्त्रीको रुपमा दाबेदार रहेकी नेतृ अष्ठलक्ष्मी शाक्यलाई अहिले नेपाल समूहकै प्रभावशाली नेता राजेन्द्र प्रसाद पाण्डेले चूनौति दिएका छन् । सम्भवत् : उनले नेपाल समूहले आफूलाई नपत्याए, गुट परिवर्तन गरेर भएपनि आफूलाई मुख्यमन्त्रीको दौडमा बलियो बनाउने तयारी थालेका छन् । तर नेता नेपालले अहिले नै निर्णय गर्न सक्ने अवस्था छैन् ।

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका दौडमा रहेका नेताद्धय शाक्य र पाण्डे भने आ आफूले नै यो दौडमा गोल हान्ने दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा दाबेदार पाण्डेले भनेका छन्,“म संसदीय दलको नेता पनि हुन्छु, मुख्यमन्त्री पनि हुन्छु, हेर्दैै जानुहोला।” उनले यो दौडमा आफूलाई कुनै दबाब आएपनि स्विकार गर्ने पक्षमा नरहेको  सुनाए ।

तर पाण्डेभन्दा शाक्य पनि के कम ? उनले पनि धमलासँगकै कुराकानीमा भनेकी छिन्,“म महिला हुँ, म प्रतिष्पर्धामा छु, समावेशिताको कुरा गर्नुहुन्छ भने पनि म मुख्यमन्त्रीको लागि योग्य उम्मेद्धवार हुँ, पार्टीले मलाई विश्वास गर्छ, म नै मुख्यमन्त्री हुन्छु।”

३ नम्बर प्रदेशको मुख्यमन्त्रीको “अनसिन रेस” मा भने अर्का नेताहरु केशब स्थापित् र पशुपति चौलागाई पनि देखिएका छन् । तर उनीहरुलाई मुख्य दाबेदार पार्टीकै नेताहरु मान्न रुचाउँदैनन् । 

यता प्रदेश नम्बर ४ मा अध्यक्ष ओली खेमाकै नेताहरु किरण गुरुङ्ख र पृथ्वी सुब्बा गुरुङ्ख नै रेसमा देखिएका छन् । ओलीले एक जनालाई वाकओभर गर्न सुझाएपनि दुवै नेता यो मान्ने पक्षमा छैनन् । उनीहरुले जसरी पनि मुख्यमन्त्रीमा आफू ब्याक नहुने सन्देश पार्टी नेतृत्वलाई दिईसकेका छन् । यता नेतृत्वले भने आलोपालो गरेर चलाउन दुवै नेतालाई सुझाएको छ । उम्मेद्धवारका दाबेदारलेपनि आलोपालो गर्न सक्ने संकेत दिएको छन् ।

प्रदेश नम्बर ५ मा भने सचिव शंकर पोखरेल एक्ला उम्मेद्धवार हुन् । उनी सर्वसम्मतीले नै उम्मेद्धवार बनेका छन् । उनी संसदीय दलको नेता बनिसकेका छन् । त्यसैले यो प्रदेशमा कुनै विवाद छैन् ।

तर माथि चर्चा गरिएका बाँकी प्रदेशमा भने मुख्यमन्त्री बनाउनको लागि पार्टी नेतृत्वलाई अहिले फलामको चिउरा चपाएसरह भएको कतिपय एमाले शीर्ष नेताहरुले नै चर्चा गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्