Logo

चार नम्बर प्रदेशः कांग्रेस संसदीय दलको नेतामा खड्का र नेपालीको दाबी



काठमाडौं, १८ माघ । चार नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठक माघ २२ गतेलाई बोलाइएको छ। यतिबेला पोखराको नदीपुस्थित नगर प्रशिक्षण केन्द्र हातामा रहेको प्रस्तावित संसद सचिवालयलको कार्यालय धमाधम सिंगारिँदै छ। तर अहिलेसम्म दलहरुभित्र संसदीय दलको नेता छान्न औपचारिक छलफल सुरु भएको छैन। संसदीय दलको नेता छान्न सांसदहरु पार्टी नेतृत्व समक्ष लबिङमा भने लागेका छन्।

प्रदेश नम्बर चारमा नेपाली कांग्रेसले १५ सिट जितेको छ। यो प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चित छ। अहिलेसम्म कुनै पनि दलले संसदीय दलको नेता छान्ने सुरसार गरेका छैनन्। नेपाली कांग्रेसले पनि दलको नेता चयनका विषयमा औपचारिक रुपमा छलफल चलाएको छैन। प्रतिपक्षमा बस्ने कांग्रेसमा संसदीय दलका नेताका रुपमा दुई जनाको नाम चर्चामा छ। समानुपातिकबाट सांसद बनेका कास्कीका कुमार खड्का र प्रत्यक्ष निर्वाचित नवलपरासीका कृष्णचन्द्र नेपालीको नाम दलका नेताका लागि चर्चामा छ।

कांग्रेसभित्र अहिले पहिलो अभ्यास भएकाले सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने आवाज उठेको छ। अहिले वरिष्ठता मात्र नभई भिजन, जोसजागँर भएको, पार्टीमा परिवर्तन ल्याउन सक्ने र अनुभवीलाई दलको नेता बताउनुपर्ने विषयमा छलफल भइसकेको छ। कांग्रेस प्रदेशमा प्रतिपक्षमा बस्ने भएकाले सकेसम्म रचनात्मक र सहयोगत्मक भूमिका निर्वाह गर्नसक्नेलाई दलको नेता दिनुपर्ने आवाज उठेको छ।

अनुभव र वरिष्ठताका आधारमा दलको नेता चयन हुने अवस्था आयो भने कुमार खड्काको संभावना बढी रहेको एक नेताले बताए। खड्का यसअघि दोस्रो संविधानसभा निर्वाचनमा सांसद भइसकेका व्यक्ति हुन्। उनले संविधान निर्माणका क्रममा सक्रिय भूमिका निर्वाह गरेका थिए भने उनी मन्त्री पनि भइसकेका नेता हुन्। उनी कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुन्।

उता नवलपरासी पूर्व–२ ‘क’ बाट निर्वाचित प्रदेश सांसद तथा पार्टी पूर्व जिल्ला सभापति कृष्णचन्द्र नेपालीले पनि दलको नेता हुने इच्छा देखाएका छन्। प्रत्यक्ष निर्वाचित सांसद र पूर्व जिल्ला सभापति भएका कारण आफू नै दलको नेता बन्न पाउनु पर्ने उनले आफू निकटहरुलाई बताउन थालेका छन्।

पार्टीको केन्द्रीय नेतृत्वले भने सर्वसम्मत संसदीय दलको नेता छान्नुपर्ने भनेका छ। यस्तोमा दुई आकांक्षी देखिँदा सहमति गराउन समस्या पर्न सक्छ। संसदीय दलको नेता छान्दा बरिष्ठता र यसअघिको कार्यसम्पादनको समेत मूल्यांकन गरिनुपर्ने कुमार खड्काको धारणा छ। यसअघि संविधानसभाका विभिन्न समिति र मन्त्रिपरिषदमा समेत रहेर जिम्मेवार भूमिका निर्वाह गरिसकेकोले आफू नै योग्य भएको उनको दावी छ।

‘प्रदेशमा पार्टी अल्पमतमा भएकोले समन्वयकारी र सहयोगी भूमिका खेल्ने व्यक्ति संसदीय दलको नेता बन्नुपर्ने हुन्छ’, खड्काले भने, ‘यसअघिको मेरो कार्यसम्पादनको मूल्यांकन गर्दै पार्टी नेतृत्वले यो जिम्मेवारी मलाई दिनेमा विश्वस्त छु।’

यद्यपी उनले चार नम्बर प्रदेशमा कांग्रेस अल्पमतमा भएका कारण सहमतिबाटै दलको नेता छान्नु पर्ने बताए। पहिलो अभ्यास भएका कारण सहमतिबाटै दलका नेता छान्नुपर्ने भन्दै उनले त्यसकालागि नेतृत्वले पहल गर्ने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्