Logo

स्वराज भ्रमण : आजको डिनर ओलीसँग, भोलि ब्रेकफाष्ट प्रचण्डसँग र देउवासँग लन्च गर्ने



काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपरान्ह काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। यद्धपी उनको नेपाल भ्रमणको खास कारण अहिलेसम्म खुलाइएको छैन। तर, दुइ दिने नेपाल बसाइका क्रममा स्वराजले एमाले अध्यक्ष केपी ओली र र अन्य राजनीतिक दलका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने स्वराजले विशेषगरी एमाले अध्यक्ष ओलीसँग गहन ढंगले छलफल गर्ने उच्च स्रोतले जनाएको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रीमण्डलकी विश्वासपात्र स्वराजलाई नेपाल पठाउने भएका हुन्।

स्वराज नेपाल आउनुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका भावी प्रधानमन्त्रीको पर्खाईमा रहेका ओलीबिचको सम्बन्ध सुमधुर बनाउने प्रयासको रुपमा लिइएको छ।

विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ। विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार र २ जना सञ्चारकर्मी आउने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार दिउसो भेटवार्ता हुने भएको छ। विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसँग शुक्रबार दिउसो १२ बजे राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्ने तय भएको स्रोतले बतायो।

राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भारतीय विदेश सचिव विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले लगायत हुनेछन् । भेटघाट आधा घण्टादेखि ४५ मिनेटसम्म हुने बताइएको छ ।

स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन र मधेशवादी दलका नेताहरुलाई पनि भेट्ने बताईएको छ।

एमालेले बिहिबार काठमाडौं आइपुग्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा रात्रीभोज दिने भएको छ।  साँझ सात बजे होटल सोल्टीमा रात्रीभोज दिन लागिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए। नेम्वाङका अनुसार सोही रात्रीभोजमा एमाले अध्यक्ष केपी शर्मा ओली र स्वराजबीच भेटवार्ता हुनेछ।

काठमाडौं ओर्लिएसँगै उनले आजको डिनर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने र भोलि विहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लाईट ब्रेकफाष्ट गर्ने र लन्च चाहीँ प्रधानमन्त्री देउवासँग गर्ने कार्यक्रम रहेको छ। विदेशमन्त्री स्वराज शुक्रबार साँझ भारत फर्कने कार्यक्रम छ।



प्रतिक्रिया दिनुहोस्