Logo

स्वराजको आगमन स्वभाविक, भ्रमण सफल र फलदायी : राणा



काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘उहाँको भ्रमण अत्यन्तै सद्भावपूर्ण हो, फलदायी भ्रमण भयो भन्ने हामीलाई लागेको छ।’ उनले विदेशमन्त्री स्वराजको नेपाल आगमन स्वभाविक भएको समेत विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘उहाँको नेपाल आगमन स्वभाविक हो, नेपालमा नयाँ सरकार गठन अघि आउनुभयो, समय ताजा छ, भारतले नयाँ सरकार सबैसँग सम्बन्ध उतिकै राम्रो राख्छ, सुमधुर राख्छ।’

उनले आफू र स्वराजवीचपनि भेटवार्ता भएको उल्लेख गर्दै भेटमा कुनै विशेष राजनीतिक कुराकानी नभएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पारिवारिक सम्बन्ध छ, राम्रो सम्बन्ध छ, त्यसैले हिजोको भेटमा राजनीतिक कुराभन्दा पनि पारिवारिक कुरा भयो।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अतुलनीय रहेको उनको भनाई थियो ।

राणाले भने,‘नेपाल र भारतवीचको सम्बन्ध सुमधुर छ, अतुलनीय छ, खुल्ला सिमानाको सम्बन्ध छ, ठूलो व्यापारिक हिस्सा भएको सम्बन्ध हो, व्यक्ति–व्यक्तिवीचको सम्बन्ध छ, सामाजिक–साँस्कृतिक सम्बन्ध छ, धार्मिक सम्बन्ध छ।’ उनका अनुसार नेपाल–भारत द्धिपक्षीय सम्बन्ध झनझनै राम्रो भएर जानुपर्ने र अहिले सोही अनुसार अघि बढिरहेको छ।

उनले नेपालले जलस्रोतको विकासमा आगामी दिनमा ध्यान दिनुपर्नेमा जोड दिए । राणाले भने,‘अरुण तेस्रो अघि बढिरहेको छ, महाकाली प्रगति भयो, खासगरी यो परियोजना अघि बढ्यो भने नेपाल र भारतवीचको सम्बन्ध नयाँ आयाममा पुग्छ, ६ हजार मेगावाट क्षमताको यो परियोजनाले विकासको ठूला ठूला संभावनाहरु खोल्छ, त्यो क्षेत्रका विकासले गति लिन्छ।’ त्यस्तै व्यापार घाटा समेत सुधार्न यो फलदायी र राम्रो उपाय भएको उनको तर्क थियो ।



प्रतिक्रिया दिनुहोस्