Logo

स्वराजको भ्रमणपछि ओली उत्साहित, उपेन्द्र-महन्थको समर्थन, प्रचण्डले के गर्लान् ? (राष्ट्रियसभा निर्वाचनपछि मुलुक नयाँ कोर्समा)



काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने शिष्टाचार भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । उनको भ्रमण विशुद्ध सद्भावपूर्ण भ्रमण भएको भारतीय पक्षहरुले बताएका छन् ।

स्वराजको नेपाल भ्रमणबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकै उत्साहित बनेका छन् । नेपालका वेटिङ प्राईम मिनिष्टर रहेका अध्यक्ष ओली वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारको प्रधानमन्त्री बन्ने करिब करिब पक्का भएको छ । उनी आफू प्रधानमन्त्री बन्ने कुरामा कुनै पनि द्धिविधामा छैनन् । तर वाम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको एकतामा ढिलाई भैरहँदा राजनीतिक बजारमा नयाँ बहस सुरु भएको छ । अब दुई पार्टीवीचको एकता के हुन्छ ? हुन्छ या हुँदैन भनेर ।

तत्काल पार्टी एकता नहुने निश्कर्षमा वाम गठबन्धनका नेताद्धय ओली र प्रचण्ड पुगेको उच्च स्रोतको दाबी छ । दुई पार्टीका शीर्ष नेताहरुले दिएको जानकारी अनुसार पार्टी एकताको लागि अहिले नीति र नेतृत्वमा नै विवाद छ। ओली निकट उच्च स्रोतले भन्यो,‘अध्यक्ष ओली अहिले सितिमिति अध्यक्ष छोड्ने पक्षमा हुनुुन्न्, त्यसैले एकतामा ढिलाई भैरहेको छ।’ यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष नपाए एकतामा गैहाल्ने पक्षमा छैनन् ।

यसो हुँदा अब बन्ने सरकारको नेतृत्वमा मात्रै विवाद नभएर राष्ट्रपति, उपराष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदमा पनि ठूलो झगडा हुने बुझिएको छ । जनताले वाम गठबन्धनको पक्षमा मत दिएकोले अहिले दुवै नेता चुनावमा गरेका प्रतिबद्धताबाट ब्याक हुने अवस्थामा छैनन् । यसर्थ, प्रचण्डले ओलीलाई बाहिर बसेर समर्थन गर्ने संभावना पनि बलियो छ ।

यही माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनपछि मुलुक नयाँ कोर्समा जान सक्ने संकेतहरु अहिले नै देखा पर्न थालिसकेका छन् । मुलुक कुन कोर्समा जाला भन्न अहिले सजिलो छैन । सरकार गठनमा कुन कुन दल सहभागी हुन्छन् भनेर अहिल्यै नै भन्न पनि सकिने अवस्था छैन् । यसो हुँदा, वाम गठबन्धनको मात्रै सरकार बन्छ कि माओवादी केन्द्रबाहेक एमाले, राजपा र फोरमको सरकार बन्ने हो त्यो भने हेर्न बाँकी छ ।

नियमित स्वास्थ्य चेकजाँच गर्न बैंकक गएका ओली एक साता बसेर नेपाल फर्किए । बैंककबाट स्वदेश फर्किएपछि ओली निकै ढुक्क छन् । झन्, हिजो भएको भारतीय विदेशमन्त्री स्वराजको भ्रमणपछि उनी झनै उत्साहित बनेका छन् । स्रोतले भन्यो,‘एमाले अध्यक्ष ओली अहिले धेरै उत्साहित बनेका छन्, प्रधानमन्त्रीमा अब आफ्नो विकल्प नभएको महशुस गरिरहनुभएको छ, उहाँ प्रधानमन्त्री बन्नेमा पूर्ण विश्वस्त हुनुहुन्छ, किनकी जनमत पनि उहाँकै पक्षमा छ।’

जनताले पहिलोपटक झण्डै दुई तिहाई मत दिएर एमाले–माओवादीलाई नयाँ सरकार गठनको लागि पठाएका छन् । एमाले सचिव प्रदिप ज्ञवालीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,‘अब प्रधानमन्त्री ओली नै हो, उहाँकै नेतृत्वमा सरकार बन्छ, यसमा कुनै द्धिविधा छैन् ।’

ज्ञवालीको आशय पनि क्लियर छ : सके वाम गठबन्धनकै सरकार बनाउने । यदि सम्भव नभए माओवादी बाहेकको सरकार बनाउने । यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यतिकै गठबन्धन तोड्ने पक्षमा छैनन् । दाहाल निकट उच्च स्रोतको दाबी छ,‘पार्टी एकता नभएपनि गठबन्धनको सरकार बनाउँदा पनि ओली सुरक्षित छन्, त्यसैले उहाँ प्रचण्ड बाहिर बस्दा पनि ओली सुरक्षित छन् । ओली ढुक्क भएका छन् । हामी समर्थन गर्न पनि सक्छौं।’

ओली ढुक्क हुनुका पछाडि मधेशवादी दल हुन् । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीसँग निकट हुनु हो । यसमा कसको के कति हात छ भन्ने कुरा ? पछि नै थाहा होला ।

यता एमालेबाहेक कांग्रेस, माओवादीले सरकार बनाउन चाहेपनि त्यसको लागि उपेन्द्रको सहयोग अनिवार्य छ । हुन त यो वीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई ढुक्कले पाँच वर्ष सरकार चलाउन अफर गरेको कुरा आएको थियो । स्वयम् प्रचण्डले पनि यो अफरबारे सार्वजनिक गरेका थिए । तर प्रचण्ड प्रधानमन्त्री बन्नकोलागि राजपा र फोरमको पनि साथ र सहयोग अनिवार्य हुन्छ । त्यसको लागि यो संभावना न्यून छ ।



प्रतिक्रिया दिनुहोस्