माघ २०, काठमाण्डौ । सात प्रदेशमध्ये चारवटामा सरकार बनाउन लागेको नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नम्बर पाँचमा शंकर पोखरेललाई चुनौति दिने कोही नभए पनि बाँकी तीन प्रदेशमा मुख्यमन्त्रीका लागि एकभन्दा बढि सासंदले दाबी गरेपछि विवाद देखिएको हो ।
प्रदेश नम्वर १ को मुख्यमन्त्री कस्लाई बनाउने भन्ने विषयमा एमालेमा विशेषगरी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद चर्चिएको छ । ओली पक्षधर शेरधन राईले आफू नै प्रदेश १ को भावी मुख्यमन्त्री भन्दै प्रचार गर्दै आएका छन् भने माधव नेपाल पक्षले भने जीवन घिमिरेलाई मुख्यमन्त्री नबनाए ओलीलाई सहयोग नगर्ने चेतावनी दिँदै आएका छन् ।
सोही प्रदेशमा पार्टीका सचिव तथा प्रदेश नम्बर एकका संयोजनक भिम आचार्यले पनि दाबी गरेका छन् । उनले अध्यक्ष केपी ओली निकट मानिने राईलाई चुनौति दिएका हुन् ।
आचार्यले पार्टी हेडक्वार्टरले आफूलाई नै मूख्यमन्त्रीका रुपमा प्रस्तुत गर्ने दाबी गरिरहेका छन् । राइले पनि सोही दाबी गरिरहेका छन् ।
दुवै दाबेदारले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै आफ्नो पक्षमा सहमति नभए संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने र विजयी हुने दाबी गरेका छन् ।
मुख्यमन्त्रीका दाबेदारहरु अहिले तिब्र रुपमा लबिङ गर्न व्यस्त छन् । सहमति नभए चुनाव गर्नुपर्ने भएपछि मुख्यमन्त्रीका दाबेदार आचार्य र राई प्रदेश सासंदलाई आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् ।
पार्टीभित्रकै सासंद किनबेचसम्म हुने आशंका गर्न थालिएको छ ।
प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरम र राजपाबिचको संयुक्त सरकार बन्दैछ । मूख्यमन्त्री भने फोरमले बनाउने सहमति भएको छ । तर कसलाई बनाउने भन्नेमा फोरमभित्र पनि विवाद छ । लालबाबु राउत र विजय यादवको नाम चर्चा छ ।
प्रदेश नम्बर तीनमा पनि राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबिच लडाई जस्तै चलेको छ । मूख्यमन्त्री बन्ने आशले प्रदेशसभामा चित्त बुझाएका पाण्डेलाई उपाध्यक्ष शाक्यले चुनौति दिएपछि साम दाम दण्डभेदकै प्रयोग हुने आशंका गरिएको छ । त्यसो त केन्द्रले पाण्डे र शाक्यबिच सहमति हुने नदेखेपछि तेस्रो विकल्प खोज्ने प्रयास पनि गरेको छ । तर तेस्रो व्यक्तिको रुपमा देखिएका केशव स्थापितलाई पार्टीभित्रैबाट मन पराइएको छैन । पशुपति चौलागाईलाई पनि पार्टीले अघि सार्न सकेको छैन ।
पाण्डे र शाक्य दुवै वरिष्ठ नेता नेपाल पक्षका भएकाले समस्या झन बढेको छ । यसैको फाइदा उठाउँदै अर्का नेता केशव स्थापितले आफूलाई ओली पक्षधर भएको प्रचार गर्दै मुख्यमन्त्रीमा दाबी गरेका छन् । यही प्रदेशबाट पशुपति चौलागाईलाई पनि दाबेदारको रुपमा हेरिएको छ ।
प्रदेश नम्बर चारमा दुई गुरुङबिच जुँगाको लडाई छ । पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङको दाबी छ ।
४ मा अध्यक्ष ओली खेमाकै नेताहरु किरण र पृथ्वी सुब्बा नै रेसमा देखिएका हुन् । ओलीले एक जनालाई वाकओभर गर्न सुझाएपनि दुवै नेता यो मान्ने पक्षमा छैनन् । उनीहरुले जसरी पनि मुख्यमन्त्रीमा आफू ब्याक नहुने सन्देश पार्टी नेतृत्वलाई दिईसकेका छन् । यता नेतृत्वले भने आलोपालो गरेर चलाउन दुवै नेतालाई सुझाएको छ । तर उनीहरुले मानेका छैन ।
अन्ततः चारमा पनि सासंद किनबेचकै खेल हुन सक्ने आशंका गरिएको छ ।
प्रदेश नम्बर ५ मा भने सचिव शंकर पोखरेल एक्ला उम्मेद्धवार हुन् । उनी सर्वसम्मतीले नै उम्मेद्धवार बनेका छन् । उनी संसदीय दलको नेता बनिसकेका छन् । त्यसैले यो प्रदेशमा कुनै विवाद छैन् ।
प्रदेश नम्बर ६ मा पनि सहमति हुन सकेको छैन । वाम गठबन्धन अन्तरगत माओवादीले प्रदेश सरकार बनाउन लागेको ६ मा पनि दुई जनाको दाबी छ ।
६ मा महेन्द्र शाही र नरेश भण्डारीबिच को हुने भन्नेमा विवाद देखिएको हो ।
माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।
वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । तर उनको नाममा पनि विवाद देखिएको छ ।