Logo

प्रदेश दुईको पहिलो सभा नै अवरुद्ध, एमाले गुटमा विभाजित, मर्यादापालक रङ्गीविरङ्गी



माघ २१, काठमाण्डौ । प्रदेश २ को पहिलो प्रदेशसभा सम्पन्न भएको छ । जनकपुरमा सम्पन्न सभाले फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको छ ।
प्रदेशसभाको दोस्रो बैठक माघ २९ गतेका लागि तय गरिएको छ।

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ अवरुद्ध भएको थियो । राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराखेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।

मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाइरहँदा एमाले सांसदहरुले बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाएका थिए ।

तर, जेष्ठसदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहिदहरुको तस्वीर राख्न रुलिङ गरे । योसँगै मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भए ।

आइतबारको बैठकमा प्रदेशसभामा उपस्थित दलका नेताहरुले सम्बोधन गरेका थिए । बोल्ने नेताहरुले नेताहरुले प्रदेश २ लाई सम्बृद्ध बनाउनु पर्ने र मधेसमा रहेको अशिक्षा, गरिबी अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् ।

यस प्रदेशको पहिलो बैठकमै नेकपा एमाले भने दुई गुटमा विभाजित भएको छ । प्रदेश २ को पहिलो बैठकमा प्रदेशसभामा उपस्थित प्रत्येक दलका एकएक नेताले सम्बोधन गरेका छन् ।

तर, तेस्रो ठूलो एमालेका भने दुई प्रदेशसभा सदस्यले सम्बोधन गरे । सुरुमा सत्यनारायण मण्डलले सम्बोधन गरे भने अन्तिममा शत्रुघन महतोले समय पाए ।
पार्टीभित्रको गुटका कारण दलले पाएको १० मिनेट आधा आधा गरेर दुई सांसदले बोलेका हुन् ।

पार्टीको स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डल केपी ओली गुटका नेता हुन् । महतो माधव नेपाल गुटका नेता हुन् ।

प्रदेशसभा २ को पहिलो बैठक स्थलमा पुरुष मर्यादापालकहरु कोही स्वीटर लगाए त कोसैले ज्याकेट । महिलाहरु भने कुर्था सुरुवालमा छन् । यद्यपि उनीहरुलाई ‘मर्यादापालक प्रदेश २ जनकपुरधाम’ लेखिएको ब्याच भने दिइएको छ ।

प्रदेश २ ले पहिलो बैठकअघि नै सर्बदलीय बैठकबाट मर्यादापालकको दौरा सुरुवाल अस्वीकार गर्दा यो अवस्था आएको हो ।



प्रतिक्रिया दिनुहोस्