Logo

पार्टी एकता गर्ने जिम्मेवारी एमालेको बढी छ : वामदेव गौतम



काठमाडौँ, २१ माघ : नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपालमा वाम गठबन्धनले नयाँ किसिमको समाजवाद ल्याउने बताउनु भएको छ ।

प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संसारले नेपालबाट सिक्ने खालको समाजवाद ल्याउने बताउनुभयो । उहाँले कार्लमाक्र्स र लेनिनले भनेजस्तो समाजवाद ल्याइने बताउँदै उहाँले भन्नुभयो, “तर माक्र्स र लेनिनले भनेको बाटोका आधारमा नभई फरक प्रक्रियावाट समाजवाद ल्याउछौँ ।”

उहाँले आफूले निर्माण गर्ने समाजवाद कसैले होच्याउने किसिमको समेत नहुने धारणा राख्नुभयो । नेता गौतमले पार्टी एकता गर्ने जिम्मेवारी नेकपा (माओवादी केन्द्र)भन्दा एमालेको बढी भएको समेत बताउनुभयो । “ठूलो पार्टीको हिसाबले पार्टी एकता गर्ने जिम्मेवारी एमालेको बढी छ”–उहाँले भन्नुभयो, “पार्टी एकता गर्दा धेरै दिनुपर्ने भए पनि एमाले तयार हुनुपर्दछ ।”

उहाँले पार्टी एकता गर्दा दुई पार्टी एकअर्कामा विलय नभएर एक अर्कामा गाभिएर नयाँ शक्तिशाली पार्टी बन्ने बताउनुभयो । उपाध्यक्ष गौतमले अहिले दुई पार्टीबीच छैटौँपटक पार्टी एकताको प्रयास भइरहेको भन्दै अहिलेको प्रयासलाई सफलता पु¥याउने बताउनुभयो ।

दुई पार्टीबीच एकता नभए मुलुकमा ठूलो दुर्घटना हुने बताउँदै उहाँले भन्नुभयो, “दुई पार्टी मिल्न सकिएन भने ठूलो मूल्य चुकाउनु पर्दछ ।” पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनु भएका गौतमले संविधानको गलत व्याख्या गरेर वाम गठबन्धनको सरकार गठनमा ढिलाई भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिनिधिसभाले सरकार बनाउने हो । राष्ट्रियसभाको सरकार बनाउनका लागि कत्ति पनि भूमिका रहदैन । तर संविधानको गलत व्याख्या गरेर राष्ट्रियसभाको निर्वाचन नभई सरकार बनाउन दिइएन ।”

उहाँले अबको सरकारले भारतस्ँग राम्रो सम्बन्ध बढाउनका लागि नै भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएको बताउनुभयो । उहाँले भारतसँग देखिएका समस्या मित्रतापूर्वक समाधान गरिने समेत धारणा राख्नुभयो ।

सो अवसरमा एमालेका सचिव योगेश भट्टराईले अबको राजनीतिक एमाले र माओवादीको निर्णयबाट प्रभावित हुने बताउनुभयो । उहाँले कसैको मनोगतले पार्टी एकता नरोकिने भन्दै वामशक्तिको बलियो धु्रवीकरण बन्ने बताउनुभयो । एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले वाम गठबन्धनको सरकारले अहिलेको भन्दा १० गुणा बढी प्रेस स्वतन्त्रताको प्रत्याभूति गराउने समेत बताउनुभयो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले वाम गठबन्धनले राजनीतिक आन्दोलन पूरा गरेको भन्दै अब गठबन्धनकै नेतृत्वमा मुलुकमा आर्थिक विकास हुने बताउनुभयो । उहाँले परिवर्तनको आन्दोलनमा प्रेसको भूमिका भएजस्तै अब मुलुकको आर्थिक र सामाजिक विकासमा पनि प्रेसको भूमिका हुनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले पार्टी एकता भत्काउन देशी, विदेशी शक्तिले षडयन्त्र गरिरहेको भन्दै एकतालाई भाड्न नदिई निष्कर्षमा पु¥याइने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द शर्माले सरकारी सञ्चारमाध्यमलाई सार्वजनिक प्रशारण समितिमार्फत सञ्चालन गर्न माग गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्नका लागि सरकारलाई घच्घच्याउनुपर्ने बताउनुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य सूर्य थापा, प्रेस चौतारीका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष ओम शर्मा, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, आदिवासी जनजाति पत्रकार संघका अध्यक्ष दण्ड गुरुङलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा चौतारीका अध्यक्ष बस्नेतले आफ्नो आमा स्व सावित्रीदेवीको नाममा पुरस्कार स्थापना गर्नुभएको छ ।

छ पत्रकार पुरस्कृत

प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसका अवसरमा आज विभिन्न पुरस्कार वितरण गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले ती पुरस्कार वितरण गर्नुभएको हो ।

‘हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार’ कृष्णमुरारी भण्डारी र ‘अग्निशिखा पत्रकारिता पुरस्कार’ रघु मैनालीलाई प्रदान गरिएको छ । दुवैको राशि रु १५ हजार रहेको छ ।

त्यसैगरी ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ धनकुटाका सिद्धराज राई र नेपालगञ्जका जनक नेपाललाई प्रदान गरिएको छ ।

यस्तै ‘वीरेन्द्रकुमार साह क्रियाशील पुरस्कार’ दोलखाका मन्दिरा थापा र पर्साका भूषण यादवलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ । पुरस्कृतलाई उपाध्यक्ष गौतमले प्रशंसापत्र र दोसल्ला ओढाउनुभएको थियो ।

यसैगरी एमाले सचिव भट्टराई र चौतारीका संस्थापक सचिव गोकुल बाँस्कोटालाई प्रतिनिधिसभामा निर्वाचित भएकामा सम्मान गरिएको छ भने काउन्सिलका कावा अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको थियो ।रासस

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्