Logo

‘लुम्बिनीलाई पर्यटकीय गन्तव्य बनाइने’ : शंकर पोखरेल



बुटवल, २१ माघ (रासस) : नेकपा (एमाले) ५ नं प्रदेशका संसदीय दलका नेता तथा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेलले यस प्रदेशलाई देशकै समृद्ध बनाउन सकिने सम्भावना रहेको बताउनुभएको छ ।

नेता पोखरेलले लुम्बिनीलाई केन्द्रमा राखेर यस प्रदेशका सबै १२ वटै जिल्लाको एकीकृत विकास गर्दै नमूना एवं विशिष्ट प्रदेश स्थापना गर्न सकिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आज आयोजना गरेको ‘संघ–प्रदेश–स्थानीय सरकारका अन्तरसम्बन्ध, चुनौती र अवसर’ कार्यक्रममा नेता पोखरेलले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभयो ।

“अहिले तीनवटा तह कार्यान्वयनमा रहेपनि पूर्णरुपमा कार्य गर्न सकेका छैनन्,” उहाँले भन्नुभयो । उहाँले शून्य संरचना र शून्य अवस्थाबाट प्रदेशको संरचना शुरु हुने भए पनि यसलाई एउटा महत्वपूर्ण अवसरका रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

नेता पोखरेलले ५ नंमा समृद्धि र विकास पर्यटकीयस्थलबाट नै हुने र कृषि, पर्यटन, जलस्रोत र सभ्यतालाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले गरिबी, बेरोजगारी हटाएर प्रदेशलाई समृद्धि बनाउनतर्फ आफूहरु एकसाथ लाग्ने बताउनुभयो ।

सो अवसरमा स्थानीय विकासका विज्ञ डा नारायणबहादुर थापाले स्थानीय–प्रदेश–संघीय सरकारका अवसर र चुनौती, स्रोतको बाँडफाँड, अधिकार क्षेत्रलगायत विषयमा विशेष अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रियामा ५ नं प्रदेशका प्रदेशसभाका सांसद, राजनीतिक दलका नेता, नागरिक अगुवा, पत्रकार, विद्यार्थीको सहभागिता थियो । प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय अध्यक्ष बालकृष्ण चापागाईं, विश्लेषकद्वय यमलाल खनाल र युवराज कँडेल, व्ययवसायी टंकप्रसाद पोखरेललगायतले समृद्धिका लागि सहयात्रा जरुरी रहेकामा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्