Logo

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह



पालुङ, मकवानपुर, २१ माघ (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरिएको सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने बताउनुभएको छ ।

थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यालयलाई स्वावलम्बी र आत्मनिर्भर बनाएर नै गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने सधैँ हेक्का राख्न पनि आग्रह गर्नुभयो ।

विकासको मूल आधारका रुपमा रहेको गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य सदा कटिबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘थाहा’ दर्शनका प्रणेता सामाजिक चेतना र जागरण अभियानका अभियन्ता रुपचन्द्र विष्टको कर्मस्थलमा आएर विद्यालयमा विज्ञान प्रयोगशाला भवन तथा स्वर्ण स्मारक उद्घाटन गर्ने अवसर पाएकामा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालका विभिन्न राष्ट्रिय भाषामा दख्खल राखी भाषाका माध्यमबाट स्थानीय जनसमुदायमा सामाजिक जागरण अभिवृद्धि गर्ने विष्टको कर्मथलोलाई ‘थाहा’ अभियानसँग जोडेर थाहा नगरपालिका नामाकरण हुनु खुशीको विषय हो ।”

राजनीतिक स्थिरता र स्थायित्वसहित मुलुक अब समृद्धितर्फ अगाडि बढ्ने जमर्को गर्दैछ भन्दै उहाँले दामन पालुङ उपत्यकामा पर्यटन विकासको प्रशस्त सम्भावना रहेकाले पूर्वाधार विकासलाई थप सुदृढ पार्दै पयर्टन व्यवसायका माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याउन अग्रसर हुन आह्वान गर्नुभयो ।

प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य कुमारी मोक्तानलगायतले विद्यालय स्वर्ण वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यालय पूर्वप्रधानाध्यापक शिवराज शर्मालगायतलाई सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन पनि गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्