माघ २२, काठमाण्डौ । प्रदेशसभा व्यवस्थापनका लागि सरकारले केन्द्रबाट कर्मचारी खटाएको छ । आवश्यक पूर्वाधार र जनशक्ति बिना नै संवैधानिक प्रक्रियालाई मात्र आधार बनाएर संघीयता कार्यान्वयन गरिँदा विभिन्न अप्ठ्यारा देखा परेका छन् ।
समस्याकाबिचमा पनि प्रदेशसभाहरु बसिसकेका छन् । अनेक विकल्प प्रयोग गरेर प्रदेशसभा बस्ने हल वा घरको चाँजोपाँजो गरिएको छ । यो सब व्यवस्थापनका लागि कर्मचारी रातदिन खटिएका छन् ।
पर्याप्त व्यवस्थापन नभए पनि छोटो समयमा प्रदेश सभा बस्न सफल भएको छ । यसअघि स्थानीय निकायअन्तरगत गाँपालिका र नागरपालिका कार्यालय व्यवस्थापनका लागि पनि निकै समस्या देखिएको थियो ।
यद्यपी त्यसबेलाभन्दा अहिले बढि समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले प्रदेशसभा नयाँ संरचना भएकाले सबै केन्द्रबाट व्यवस्थापन गर्नुपरेको बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै सचिव बरालले सेवा सुविधाका नाममा कर्मचारीले पनि पूर्ण सहयोग नगरेको बताए ।
“संक्रमणकालिन समयमा कर्मचारीहरुले आफ्नो विद्यमान सेवा सुविधाबाटै काम गर्नुपर्छ । कर्मचारी प्रशासनको दायित्व पनि हो ।” बरालले भने ।
आगामी दिनमा राज्यले कसरी सम्मान गर्ने भन्ने विषयमा पछि निर्णय हुने भन्दै बरालले अहिले काममा केन्द्रित हुन आग्रह गरे । “पहिला सुविधा मागेर बल्ल काममा जाने प्रवृत्ति राम्रो होइन ।” उनले भने ।
पछिल्लो समय कर्मचारीहरुको विदेश भ्रमण मोह किन मौलायो भन्ने धमलाको प्रश्नमा बरालले सकारात्मक नकारात्मक दुवै पाटो रहेको बताए । “कतिपय सिकाइको अवसर पनि हो । कतिले चाँही पटक पटक भ्रमणमा जान चाहेका छन् ।”
बजेट निर्माणकै समयमा कर्मचारी भ्रमणका लागि बजेट स्विकृत गर्न नहुन बरालको तर्क छ ।
कर्मचारीको विदेश भ्रमण नियन्त्रण गर्नका लागि सम्बन्धित मन्त्रालय र सचिवहरुले भूमिका खेल्नुपर्ने उनको भनाई छ ।