Logo

घुम्ती शिविरमा पाए १५९ ले नागरिकता



सरिता राई  : भोजपुर, २२ माघ । भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकिकृत घुम्ती शिविरबाट एक सय बढीलाई नागरिकता वितरण गरिएको छ ।

शनिबार सञ्चालित शिविरबाट १ सय ५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपाङ्गता परिचय पत्र, जिल्ला आयुर्वेद कार्यालयबाट एक सय ५४ जनालाई निशुल्क औषधी र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

त्यस्तै कृषि तर्फ एक सय ४० जना कृषकलाई विउ वितरण, पशु सेवा कार्यालयबाट दुई सय २३ जनाले पशु पंक्षिको विषयमा परामर्श लिएका छन् । जिल्ला बन कार्यालय र भु–संरक्षण कार्यालय मार्फत १२ सय बिरुवा वितरण गरिएको छ भने घरेलुबाट ३ वटा उद्योग दर्ता तथा ६ जना उद्योगीले परामर्श लिएका छन् ।

शिविरको प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले ३५ वर्षिय हरिमाया कार्कीलाई नागरीकता वितरण गरेर उद्घाटन गर्नुभएको थियो । राज्यको सेवा जनताको घरदैलोमा पु¥याउने उदेश्यले जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाई तथा अन्य विषयगत कार्यालयको आयोजनामा एक दिने शिविर सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो । शिविरबाट अरुण गाउँपालिकाका स्थानिय हर्षित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्