Logo

प्रदेश ६ : ‘एक साताभित्रै मन्त्रालय व्यवस्थापन’



मदन विक : सुर्खेत, २२ माघ । माघ मसान्तसम्म प्रदेशमा आवश्यक पर्ने सबै मन्त्रालयहरु व्यवस्थापन हुने मुख्य मन्त्री कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताएका छन ।

आईतबार वीरेन्द्रनगरमा रिर्पोटर्स क्लव नेपाल शाखा सुर्खेतले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले मन्त्रालय व्यवस्थापनको कार्य त्रिव रुपमा भईरहेको जानकारी दिएका हुन् ।

अबको १० दिनभित्रै मन्त्रालय व्यस्थापनको कार्य सकिने उनको भनाई छ । हाल मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएकाले अन्य मन्त्रालयहरुको मर्मत कार्य शुरु गरिएको उल्लेख गरे ।

भवनको अभाव नभएपनि छोटो समयमा जनशक्तीको अभावहुदाँ व्यवस्थापन गर्न केही ढिलाई भएको उनको भनाई छ । हाल मन्त्रालयका लागि छनौट गरिएका संरचनामाहरु रंग–रोगन र मर्मतको काम भईरहेको उनले बताए ।

सार्वजनिक खरिद ऐन सम्बन्धी प्रक्रियाले गर्दा प्रदेश सभा भवन व्यवस्थापन गर्न भने केही समय लाग्ने उनले जानकारी दिए ।

प्रदेश नं. ६ मा ७ वटा मन्त्रालयहरु रहने छन । मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय रहने प्रमुख सचिव प्रधानले जानकारी दिए ।

सभाहलको निर्माण हुन तीन महिना लाग्ने

साक्षात्कारमा बोल्दै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठल प्रदेश सभाका लागि छनौट गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा ध्वनीको समस्या देखिएकाले सभाहल व्यवस्थापन गर्न झण्डै तीन महिना लाग्ने जानकारी दिए । उनले सार्वजनिक खरिद ऐन प्रक्रियाले गर्दापनि समय धेरै लाग्ने बताए ।

‘ढिलै भएता कम खर्चमा उत्कृष्ट सभाहल निर्माणका लागि खटिएका छौं’ श्रेष्ठले भने,–‘प्रदेश सभा हल स्थायी रुपमा बनाउनेगरी व्यवस्थापनाको काम अघि बढिसकेको छ ।’ प्रदेश सभाको भवन व्यवस्थापन गर्न मात्र झण्डै १ करोड लागत लाग्ने श्रेष्ठले जानकारी दिए । सभाहलको ध्वनी हटाउने मात्रै झण्डै २० लाख खर्च लाग्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्