Logo

ओली र प्रचण्डमध्ये एकजना प्रधानमन्त्री, अर्को पार्टी अध्यक्ष हुनुपर्छ : प्रवक्ता भुसाल



माघ २३, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकअर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित भएको आशंका गर्न थालिएको छ । जसका कारण एकता प्रक्रियामा विलम्ब हुने मात्र नभै एकता नै नहुने हो कि भन्नेसम्मको आशंका गरिएको छ ।

नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक–पटक छलफल भए पनि निष्कर्ष निस्कन नसक्दा एकता हुने–नहुने संशय देखा पर्न थालेको हो ।
एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको देखिन्छ ।

तर माओवादीकी प्रवक्ता पम्फा भुसालले भने एकता भएरै छाड्ने दाबी गरेकी छिन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले दुई दलबिचको इतिहास, वैचारिक मान्यतालगायतका विषयमा सहमति भएर एकता गर्नुपर्ने भएकाले ढिलाई भएपनि एकता प्रक्रिया टरेको भन्ने चर्चा गलत भएको दाबी गरिन् ।

“नयाँ सोच, नयाँ कार्यदिशा र नयाँ संगठनात्मक संरचनाबाट एकता हुने हो । गृहकार्य र छलफल भइरहेको छ । एकता प्रक्रियाले अझै छलफलकै माग गरिरहेको छ ।” भुसालले भनिन् ।

नेतृत्वको विवाद मिलाउन दुई अध्यक्षबीच विभिन्न विकल्पमा छलफल भने चलिरहेको अन्य नेताहरुले पनि बताएका छन् । तर एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमाले र एक माओवादीले लिने गरी भागबन्डा गर्नुपर्ने माओवादीको अडानमा एमाले सहमत छैन ।
भुसालले भने आवश्यकता र जनताले अनुमोदन गरेकोले जस्तो सुकै परिस्थितीमा पनि एकता हुनुपर्ने बताईन् ।

नेतृत्वको छलफलका सन्दर्भमा सुरुमा माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको सहअध्यक्षसम्म दिएर पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले आफंै राख्न चाहेको थियो । तर, पछिल्ला छलफलमा एमाले लचिलो बनेर दुई अध्यक्ष प्रणालीसम्मको छलफल भएको पनि बताइएको छ ।

“एकता सम्मानजनक हुनुपर्छ । माओवादी एमालेमा विलय हुने होइन । एमाले माओवादीमा विलय हुने पनि होइन ।” भुसालले भनिन् ।
माओवादी र एमाले दुवैको वैचारिक पक्ष एकताको आधार बन्न नसक्ने भुसालको तर्क छ । सम्मानजनक कार्यविभाजन र संगठनात्मक संरचनामा भुसालले जोड दिएकी छिन् ।

ठूलो पार्टीको नेता हुनुको नाताले माओवादीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा स्विकार गरको भुसालले बताईन् ।
तर एकीकृत पार्टीको अध्यक्ष भने केपी ओली नहुने भुसालले स्पष्ट पारेकी छिन् ।

कार्यविभाजन हुँदा प्रचण्ड प्रधानमन्त्री बनेर ओली पार्टी अध्यक्ष बन्ने सम्भावना पनि रहेको उनको भनाई छ ।
“सबैलाई सम्मानजनक कार्यविभाजन हुन्छ । एउटा पार्टी अर्को पार्टीमा गएर विलय हुने होइन । कमरेड प्रचण्ड प्रधानमन्त्री भएर केपी कमरेड अध्यक्ष पनि हुन सक्नुहुन्छ । अथवा केपी ओली प्रधानमन्त्री भएर प्रचण्ड पार्टी अध्यक्ष बन्नुहोला । अहिले वार्ताका सिलसिलामै छाँै ।” भुसालले भनिन् ।

ओली र प्रचण्डमध्ये एकजना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुनु नै स्वभाविक भएकाले यही नै एकताको आधार भएको भुसालले स्पष्ट पारेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्