Logo

क्यान्सर रोग सचेतनामा मेडिसिटीसंग जैन महिलाहरु



काठमाडौं, २४ माघ । क्यान्सर रोग विरुद्धको अभियानमा अखिल भारतीय जैन श्वेताम्बर तेरापंथ महिला मंडल समेत सहभागी भई नेपाल मेडिसिटी अस्पतालसंग सचेतना अभिबृद्धिलाई साथ दिने भएका छन् ।

जैन महिलाहरुको करिब ५० जनाको समूहलाई आज नेपाल मेडिसिटी अस्पतालको अंकोलोजी र स्त्री तथा प्रसुति रोग विभागका चिकित्सकहरुले विभिन्न क्यान्सर रोगहरुका बारेमा जानकारी गराएका छन् ।

अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डा. निरा सिंहले महिलाहरुको पाठेघर, स्तन तथा अन्य स्थानहरुमा लाग्ने क्यान्सर रोगका बारेमा जानकारी दिँदै नियमित रुपमा स्वास्थ्य परीक्षण गरी क्यान्सर रोगप्रति सचेत हुनुपर्ने र समयमै क्यान्सर रोगलाई पहिचान गर्न सकेको खण्डमा त्यसको सम्पूर्ण उपचार सम्भव भएको बताउनु भयो ।

क्यान्सरविरुद्धको उपचार, खोप लगायतका विषयमा उहांले जैन महिलाहरुसंग अन्तरकृया समेत गर्नुभएको थियो ।

अस्पतालका अंकोलोजी विभागका डा. पंकज बर्मनले क्यान्सर रोगबाट समाज आक्रान्त भईरहेको अवस्थामा अब नेपाल मेडिसिटी क्यान्सरको विशिष्ट उपचार सेवा उपलब्ध भएकोले विरामीहरुले लाभ लिन सक्ने बताउनु भयो ।

महिलाहरुकोसंगको अन्तरकृयामा उहांले विभिन्न क्यान्सर रोगबाट बच्ने उपायहरुको बारेमा जानकारी प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा अस्पतालका बजार ब्यवस्थापक नवीन बज्राचार्यले नेपाल मेडिसिटी अस्पतालले ४ फेब्रुअरी देखि शुरु भई पूरा फेब्रुअरी महिना भरी क्यान्सर रोग विरुद्धको अभियानमा मेडिसिटी लागेकोले सबैलाई आफ्नो स्वास्थ्य परीक्षण गरी क्यान्सर रोग भए नभएको पत्ता लगाउन अनुरोध गर्नु भयो ।

नेपाल मेडिसिटी अस्पतालले पूरा फेब्रुअरी महिना भरी क्यान्सर रोगको स्क्रिनिङ्गमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिई यस अभियानमा बढी भन्दा बढी मानिसहरुलाई सहभागिताको लागि आव्हान गरेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्